Prakash Adhikari December 28, 2020

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्धन्द्धको कारण प्रतिनिधिसभा समेतको विघटन भएको राजनीतिक संकट बुझ्न आइतबार काठमाडौं उत्रेको चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचौसहितको टोलीले प्रधानमन्त्री के.पी.शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विभाजोन्मुख नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपाललाई भेट गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति नै भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चिनियाँ टोलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेटेको हो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले चिनियाँ टोलीले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको भट्टराईले बताउनुभयो । प्रधानमन्त्री र चिनिया टोलीबीच करिब दुई घण्टा वार्तालाप भएको थियो।

‘चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी चिनफिङले पठाउनु भएको नयाँ वर्ष २०२१ को शुभकामना सन्देश सुनाउनुका साथै नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा चीनको धारणा राख्नुभएको थियो ।

भेटमा चिनियाँ पक्षले आपसी हित र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे खुशी व्यक्त गरेको थियो ।

‘हाम्रो प्रधानमन्त्रीले पनि राष्ट्रपति सीलाई नयाँ वर्ष २०२१ को शुभकामना सन्देश पठाउनु भयो’, भट्टराईले भन्नुभएको छ, ‘लामो समयदेखि नेपाल–चीन सम्बन्ध उत्कृष्ट रहेको र पछिल्लो समय केही क्षेत्रमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको बताउनु भयो।’

भेटमा प्रधानमन्त्री ओलीले एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा गरेको सहयोगको सराहना गर्दै भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो।

चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गर्नुभएको थियो।

प्रचण्ड र नेपालसंग भेट

चिनियाँ टोलीले सोमबार बिहान ९ बजेदेखि १० : २० सम्म नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार निवासमा भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ।

सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ।

करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाउनुभएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो।

नेपाल भ्रमणमा आएको टोलीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भटेपछि नव नियुक्त अध्यक्षमाधवकुमार नेपाललाई पनि भेटेको छ ।

नेपाललाई भेट्न चिनिया टोली बानेश्वरको एभरेष्ट होटलमा पुगेको थियो । नेपाल कम्युनिष्ट पाटीको विदेशविभागका प्रमुख समेत रहनुभएका नवनियुक्त अध्यक्ष नेपालसंग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले लामो छलफल गरेको थियो ।

नेपालसंगको भेटपछि चिनिया टोलीले नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसंग भेट्दै छ ।

सो टोलीले यसपछि पहिले नेकपा माओवादीबाट प्रधानमन्त्री भैसक्नुभएका हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।

टोलीले नेपालको राजनीतिको पछिल्लो अवस्थाको बारेमा विपक्षीहरुको धारणा बुझ्ना नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

आइतबार साढे १ बजे चीनको चेङ्दुबाट काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेको थियो।

कोरोना महामारीबाट जोगिन पीपीई लगाएरै काठमाडौं उत्रेको टोली चार दिन नेपालमा रहँदा दूतवासभित्रै बस्ने जनाइएको छ।

 

Share Now

Leave a comment.