Prakash Adhikari December 29, 2020

 

काठमाडौं, १४ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको डिलमा पुगेको बेला नेपालको राजनीतिक अवस्था मूल्यांकन गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

भेटघाट मंगलबार बिहान कांग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा भएको थियो ।

भेटका अवसरमा चिनिया टोलीले राष्ट्रपति सी चिनफिङको तर्फबाट नेपाली कांग्रेसलाई पठाइएको शुभकामना सन्देश सुनाएका थिए भने कांग्रेस सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा चीनको कम्युनिष्ट पार्टी तथा त्यसका अध्यक्ष राष्ट्रपति सीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भेटघाटमा चिनिया टोलीले पूर्वप्रधानमन्त्री देउवालाई चिनिया कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिकीको अवसरमा हुने कार्यक्रममा सहभागी बन्न निम्तो पनि दिएको छ ।

कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचोको नेतृत्वमा आएको टोलीले कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धबारे चर्चा गर्दै नेपाल र चीनबीचमो सम्बन्धको आधार कांग्रेस नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाले तयार पार्नुभएको बताएका थिए । उनीहरुले नेपाल–चीन सीमासम्बन्धी प्रोटोकलको आधारशीला कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री बीपीकै पालामा तयार भएको बताएका थिए ।

हुम्लामा सीमा मिचिएको सन्दर्भमा भएको विवादमा चीन सरकारको आधिकारिक मुखपत्र मानिने ग्लोबल टाइम्सले नेपाली कांग्रेस भारतपरस्त भएको र उसैको इशारामा ति विषय उठाएको आरोप लगाएको विषयलाई पनि कांग्रेस सभापति देउवाले उठाउनुभएको थियो । तर चिनिया प्रतिनिधिहरुले केही असमझदारी देखिएको भए यसलाई सम्वादबाट हल गर्न सकिने आश्वासन दिएका थिए ।

 

 

Share Now

Leave a comment.