
काठमाडौं, १४ पौष । प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानले नदिएको आफूमा पनि निहित नरहेको अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटनको लागि गर्नुभएको सिफारिस र त्यसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिएको विघटन तथा नयाँ चुनाव घोषणाको विरुद्धमा रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपां)को प्रचण्ड–माधव समूहका नेताहरुले सो प्रतिगमनकारी निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।
नेकपाको सो ओलीविरोधी समूहद्धारा आज राजधानीको भृकुटीमण्डपस्थित प्रदशर्नी मार्गमा भएको विरोध सभामा बोल्दै सो पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा शीर्ष नेता झलनाथ खनालले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीओली प्रतिक्रान्तिको गोटी सावित : प्रचण्ड
विरोधसभालाई सम्बोधन गर्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले नेपाली जनतालाई सार्वभौम अधिकारसम्पन्न बनाउन विगत ७० बर्षमा भएका बलिदानपूर्ण आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने संविधान जारी हुनबाट रोक्न गरिएका षड्यन्त्रहरुलाई चिर्दै नेपालको भाग्य र भविष्यको निर्णय नेपाली जनताले गर्ने सविधान जारीभएकै दिनबाट यसलाई असफल बनाउने प्रयत्न गरिएको र प्रधानमन्त्री ओली प्रकारान्तरले त्यसको हतियारको रुपमा प्रयोग हुनुभएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,’मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?’
उहाँले छँदा खादाको दुईतिहाईको बहुमत भएको संसद विघटन गर्ने व्यक्तिले चुनाव गर्ने कुरा पत्याउन नसकिने भन्दै थप्नुभयो, ‘प्रतिनिधिसभाको यो असंवैधानिक विघटन चुनाव गराउन भएको हैन । चुनाव भए बहुमत आउछ कि भन्ने कसैलाई भ्रम छ भने आजैदेखि फाल्नुहोस् । हामीले प्रधानमन्त्री निरंकुश नबनोस् भनेर विघटन गर्ने अधिकार संविधानमा नराखेको हो ।’
उहाँले संविधान र यसले अबलम्बन गरेका संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र लोकतान्त्रिक शासन पद्धतिको सिद्धान्तलाई संस्थागत गर्न हिमाल पहाड र तराई सबैको सर्वस्वीकार्य बनाउन स्थानीय निर्वाचनको सुरुआत गर्ने अवसर आफूले पाएको र यस पद्धतिलाई संस्थागत गरी नेपाललाई संविधानले अबलम्बन गरेको समाजवाद हासिल गर्ने दिशामा लैजान प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बृहत् वाम गठबन्धन कायम गरी संसदमा दुईतिहाई भन्दाबढीको मतले के.पी. ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो ।
‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो धोका होला कि भन्ने संशय पनि थियो’, नेकपा अध्यक्ष प्रचण्डले उहाँलाई प्रधानमन्त्री बनाउदाका अवस्थालाई चित्रण गर्दै भन्नुभयो, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो, हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’
पूर्व प्रधानमन्त्री रहनुभएका प्रचण्डले गत बैशाख महिनामा राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि उहाँको प्रतिगमनकारी गतिविधिमा संशय उत्पन्न भएर केन्द्रीय सचिवालय र स्थायी समितिले नियन्त्रणको प्रयास गर्दागर्दै उहाँले सबैलाई झुक्याएर पौष ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चाल्नुभएको बताउनुभयो ।
नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली निरंकुश तानाशाह बन्दै गएकोले त्यसलाई रोक्न आन्दोलन अपरिहार्य भएको बताउदै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति,नागरिक समाजका प्रबुद्ध व्यक्तिहरु, वकिल, पत्रकार र बुद्धिजीविहरुलाई आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।
ओलीको व्यबहार ज्ञानेन्द्र शाहकै जस्तो : नेकपा अध्यक्ष नेपाल
नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यबहारलाई पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै ‘फुटाएर राज गर्ने चरित्र’ भन्नुभएको छ ।
संसद विघटनको विरोधमा नेकपाको प्रधानमन्त्री ओली विरोधी समूहले प्रदर्शनी मार्गमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले जनताको बलिदानले ल्याएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गरेर आफू जंगबहादुर बन्ने अभियानमा लागेको बताउनुभयो ।
उहाँले राजा ज्ञानेन्द्रले सत्तामा आएपछि राजनीतिक दलहरुबीचमा फाटो ल्याउन आफूसंग भेट्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उछित्तो काट्दै आफूलाई फुर्क्याउने र गिरिजाप्रसादसंग भेट्दा आफ्नो उछित्तो काट्दै उहाँलाई फुर्क्याउने गरेको र यसको भेद पाउन आफूहरुलाई समय लागेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीसंग पनि ज्ञानेन्द्र शाहकै बानी सरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ओलीजी कमरेड बामदेवलाई बिहान ११ बजे बोलाएर भन्नुहुन्छ, म आजै छोड्न चाहन्छु, तपाई प्रम हुनुपर्यो । उपचुनाव गरेर भएपनि ल्याउन आतुर छु । राष्ट्रिय सभाबाट आउने भएपनि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन तयार छु । पार्टीको महाधिवेशन गरेर एकल अध्यक्ष बनाउन पनि आतुर छु ।’
१२ बजे मलाई बोलाएर भन्नुहुन्छ, ‘अरु कोही काबिल भएनन् माधव कमरेड । तपाई नै प्रधानमन्त्री हुनुपर्यो, पार्टीको एकल अध्यक्ष हुनुपर्यो । अनि, ४ बजे कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले । तपाईभन्दा गतिलो कोही छैन । तपाई एकल अध्यक्ष हुनुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ ।’
जब तीन जना हामी भेला हुन्छौं, जम्मै भण्डाफोर हुन्छ ।
उहाँले पार्टीहरुबीचमा फुट ल्याएर राज गर्ने राजा ज्ञानेन्द्रको षड्यन्त्रको पर्दाफास भएपछि राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै पार्टीभित्र जन्मिएको ओली प्रवृत्तिको अन्त्य पनि चाडै हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीलाई भर्याङ मात्र बनाउने काम भयो : वरिष्ठ नेता खनाल
आमसभालाई संबोधन गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’
उहाँले हावादारी कुरा गरेर जनतालाई बिर्सनै नसक्ने गरी झक्याउनुभएको उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’
प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गर्दै सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भनेर फूर्ति गर्न थालेको पनि बताउनुभयो ।
उहाँले जनताले राजनीतिक स्थायित्व र विकासको लागि बामगठबन्धनलाई दिएको मतको प्रधानमन्त्री ओलीले अवमूल्यन गर्दै खेर फाल्नुभएको बताउनुभयो ।
संविधानमाथि कू भयो, आन्दोलनबाट सच्याउनु पर्छ : अष्टलक्ष्मी शाक्य
विरोध सभालाई संबोधन गर्दै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रिक गणतन्त्रमाथि ओली सरकारले धावा बोल्दै संविधानमाथि कू गरेको आरोप लगाउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीमा सर्वसत्तावादी , स्वच्छेचारी , निरङ्कुश प्रवृत्ति बढ्दै गएर नेपाली जनताले ल्याएको संविधान नै कुल्चेर फाल्ने दुस्साहस गरेकोले सो प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
शाक्यले १६ वर्ष अगाडि दोस्रो जनआन्दोलनमा आएको आँधी बेहरीले निरङ्कुश राजतन्त्र अन्त्य गरेजस्तै ओली प्रवृत्तिको अन्त्यको लागि पनि अविचलित भई आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
ओली इतरको नेकपाले आज देशभरी विरोध प्रदर्शन र सभा आयोजना गरेको छ । भोलि स्थायी समितिको बैठक बसेर भावि आन्दोलनका कार्यक्रम तय गर्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
ओली इतर नेकपाले पेरिसडाँडाको पार्टी कार्यालयको उपयोग गरेको छ । सरकारी जग्गामा बनेको यति एअरलाइन्स ग्रुपको पासांड.ल्हामु पर्वतीय प्रतिष्ठानमा रहेको पार्टी कार्यालयमा पार्टी गतिविधि गरेको छैन् । प्रधानमन्त्री ओली पक्षीय नेकपाले पनि आफ्ना कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा गर्दै आएको छ ।