Prakash Adhikari January 2, 2021

 

जनकपुरधाम(धनुषा), १८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखा परेको विभाजनको बाछिटा प्रदेश २ को प्रदेशसभामा पनि आइपुगेको छ ।

नेकपाको बहुमत दावी गरिरहेको प्रचण्ड–माधव समूहले प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्तावबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ ।

संसदीय दलका नेता मण्डल खुलेर ओली समूहमा लागेपछि उहाँमाथि अविश्वास प्रस्ताव लगाउने प्रकृया अगाडि बढाइएको हो ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश–२ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराईसकिएको दावी प्रदेशसभा सदस्य शत्रुध्न महतोले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको छ । यद्यपि प्रचण्ड–नेपाल समूहले २० जना प्रदेशसभा सदस्यहरुको समर्थन आफूहरुसंगरहेको दावी गरेको छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्यहरु गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, रामकुमार यादव, प्रमोदकुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगतप्रसाद यादव, शत्रुघन महतो, भरतप्रसाद साह, मञ्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्लीप्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर छ ।

प्रदेशसभा सदस्यहरु सीता गुरुङ र फुलियादेवी सदाय सम्पर्कमै रहेको, तर प्रदेश बाहिर रहेकाले उनीहरुको हस्ताक्षर हुन बाँकी रहेको महतोको दावी छ ।

संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव लगाउनका लागि एक चौथाई प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेकपा संसदीय दलका उपनेता यादवलाई बुझाउनु पर्ने विधान अनुरुप उपनेतालाई २ दिन अघि नै अविश्वास प्रस्ताव दर्ता गराइएको हो।

१ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन

प्रदेश २ मा नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउनका लागि प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहको नेतृत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरेको छ ।

नेकपा प्रदेशको संयोजक प्रभु साह, सचिव सुशिल प्याकुरेल र इन्चार्ज सत्यनारायण मण्डल ओली समूहमा औचापरिकरुपमा प्रवेश गरिसकेका कारण सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा प्रदेश संघर्ष समिति गठन गरेको हो ।

यसको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सह–ईन्चार्ज महेन्द्र पासवानले दिनुभएको हो ।
नेकपाको २ नं प्रदेश कमिटिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैर संवैधानिक कदमविरुद्ध आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रम अनुसार पुस १८ गतेदेखि पालिका तह तथा वडा–वडामा संघर्षका कार्यक्रमहरु अगाडि बढाइने भएको छ । जिल्ला र स्थानीय तहले आफ्नो आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु तय गर्न सक्ने स्वतन्त्रता दिइएको छ ।

नेकपा २ नम्बर प्रदेश कमिटीले हालै कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकाले सो कदमविरुद्ध आन्दोलनको शंखनाद भएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहेका पोखरेलले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनको उपलब्धिस्वरुप रहेका संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष तथा समावेशी सहितका उपलब्धिको रक्षार्थ आन्दोलन आवश्यक रहेको दावी गर्नुभएको थियो।

उहाँले आफैले असंवैधानिक तवरले संसद विघटन गरी प्रधानमन्त्रीको पद रिक्त भैसकेपछि मन्त्रीसहित विभिन्न पदमा नियुक्ति गरेर निन्दनीय कार्य गरेको बताउदै प्रधानमन्त्री ओली हिटलरको मार्गमा हिडेको बताउनुभयो ।

Share Now

Leave a comment.