Prakash Adhikari January 6, 2021

 

काठमाडौं, २२ पौष । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा परेका छन् । उनी लिगमा महंगा खेलाडी लिने प्लाटिनम श्रेणीको ड्राफ्टमा परेका हुन् ।

पाकिस्तान सुपर लिग आयोजक पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशी खेलाडीतर्फको प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका हुन् ।

सन्दीपले सन् २०१९ मा लाहोर क्वालन्दर्सबाट खेलेका थिए। २०२० को संस्करणमा भने सन्दीप छनोट हुन सकेनन् ।

यस क्याटगेरीको ड्राफ्टमा सन्दीपसहित विभिन्न ७ देशका २५ खेलाडी परेका छन् । जसमा दक्षिण अफ्रिकाबाट ७ तथा वेष्ट इन्डिज र इंगल्याण्डबाट ५/५ खेलाडी परेका छन् ।

Image

यस्तै अफगानिस्तानबाट ३, श्रीलंकाबाट २ तथा अष्ट्रेलिया बंगलादेश र नेपालबाट १ १ खेलाडी परेका छन् ।

प्लाटिनम क्याटेगोरीमा क्रिस गेल, क्रिस लिन, डेविड मालान देखि इमरान ताहिर, डेल स्टेन, रासिद, खान द्वान ब्राभो जस्ता खेलाडीहरु समावेश छन् ।

यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीको पारिश्रमिक १ लाख ४० हजारदेखि २ लाख ३० हजार अमेरिकी डलर रहको बताइएको छ ।

छैटौं संस्करणको पीएसएलको लागि ड्राफ्ट आगामी जनवरी ९ मा लाहोरमा हुनेछ ।

ड्राफ्ट अघि अब ६ वटा टिमले अघिल्लो सिजनमा आफ्नो टिमबाट खेलेका खेलाडीहरुलाई यथावत भित्र्याउने वा स्वतन्त्र ढंगले टिमहरुले छान्न पाउने भन्ने बारेमा निर्णय गर्नेछन् । हरेक टिमले ड्राफ्टअघि बढीमा ८ जनासम्म खेलाडी पूर्ववत आफूमा आबद्ध गर्न पाउने छ ।

२०२१ फेब्रुअरी-मार्चमा आयोजना हुने पीएसएलको सबै खेलहरु पाकिस्तानमै हुन्छ । गत सिजन कराची किंग्सले पीएसएलको उपाधि जितेको थियो ।

 

Share Now

Leave a comment.