काठमाडौं, २८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित र तटस्थ सम्बन्ध राख्न चाहेको बताउनु भएको छ ।
भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी र पाल्की शर्मा उपाध्यायलाई दिनु भएको बिशेष अन्तरवार्तामा प्रधानमन्त्री ओलीले एकको कार्ड अर्कोसँग कहिल्यै नखेल्ने स्पष्ट पार्नुहुँदै दुवै देशसँग सन्तुलित र तटस्थ नीति नेपालको रहेको बताउनु भएको हो ।
एकअर्को प्रसँगमा प्रधानमन्त्री ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भएपनि सार्वभौम राष्ट्रको हैसियतमा दुवै देश बराबर भएको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले राष्ट्रहरुबीचको सम्बन्ध सरकार प्रमुखको उमेर र राष्ट्रहरुको आकारले हैन पदीय समानताको आधारमा हुने स्पष्ट पार्दै भारतसंग पनि त्यही आधारमा सम्बन्ध विकास गरिएको बताउनुभयो ।
#OliOnZee : देखिए #DNA LIVE @sudhirchaudhary के साथ
+ नेपाल के पीएम @kpsharmaoli से भारत के मन की बात
https://t.co/79UU1BSEOf— Zee News (@ZeeNews) January 11, 2021
नेपालले जारी गरेको नयाँ नक्शा, कालापानी, लिम्पियाधुरा र लिपुलेकको प्रसङ्गमा भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्न कुटनीतिक पहल स्वरुप नेपालले पठाएको डिप्लोमेटिक नोटको भारतले कुनै सुनुवाई नगरेको प्रधानमन्त्रीले बताउनुभयो ।
देशको भूमी र सीमाको संरक्षण गर्नु कुनैपनि राष्ट्रको सार्वभौम दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमी फिर्ता ल्याउन वार्ता र संवादको ढोका खुला रहेको पनि प्रष्ट पार्नुभयो ।
नेपालमा प्रतिनिधिसभाको विघटन र निर्वाचन घोषणावारे राखिएको अर्को जिज्ञासामा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र सरकार गठन गरी सम्बन्धका नयाँ उचाई शुरु हुने बताउनु भयो।
प्रधानमन्त्री ओलीले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताउनुभयो ।
‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’ प्रधानमन्त्रीले भन्नुभयो ।


















