कीर्तिपुर(काठमाडौं), ५ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको विशाल अन्तरले पराजित गरेको छ।
अघिल्लो खेलमा बागमतीले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो। जितपछि बागमती समुह ‘बि’मा अंकतालिकामा ४ अंक सहित शीर्षस्थानमा रहेको छ।
त्रिभुवनविश्वविद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिमले २१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय १९ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमको लागि नारायण जोशीले सर्वाधिक अविजित ४४ रन बनाए भने अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमतीको बलिंगमा रामनरेश गिरिले सर्वाधिक ४ विकेट लिए भने नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, तिलक भण्डारी र बिपिन आचार्यले १ । १ विकेट लिए।
खेलमा टस हारेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो।
बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाए। यस्तै ओपनर आदील खानले ६३ रन तथा कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ ।३२ रन बनाए । खेलमा पारस खड्काले २०, इशान पाण्डेले १७ तथा आकाश थापाले १३ रनको योगदान दिएका थिए।
सुदूरपश्चिमको बलिंगमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए। यस्तै भोजराज भट्ट र सन्तोष भट्टले समान २ विकेट र बिनोद लामाले १ विकेट लिए। १० ओभरमा २ मेडन गर्दै ३४ रन खर्चिएका शेर मल्ल विकेटविहिन रहे ।


















