क्यानवेरा(अष्ट्रेलिया), ५ माघ । अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग अन्तर्गत सोमबार सम्पन्न ४३ औं खेलमा नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले कलम फर्गुसन कप्तानीको सिड्नी थंडरलाई ६ विकेटले हराएको छ ।
यसअघि सातौँ स्थानमा रहेको हुरिकेन्स यो जितसंगै ११ खेलमा ६ जित र ५ हारपछि २३ अंक बटुल्दै चौथौं स्थानमा उक्लिएको छ। ११ खेलमा ६ जित र ५ हारसहित समान २३ अंक जोडेको सिडनी थंन्डर दोस्रो स्थानमा यथावत रहेको छ।
प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा रहेको सिड्नी सिक्सरको ३२ अंक रहेको छ भने सिड्नी थन्डर्स, मेलबर्न स्टार्स र होबर्ट हरिकेन्स समान २३ अंकसहित नेट रन रेटको आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथौं स्थानमा रहेका छन्।
क्यानवेरास्थित मानुका ओभल मैदानमा भएको खेलमा १ सय ७८ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १२ बल बाँकी रहँदै ४ विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्यो। उसको लागि बेन मॅकडरमॉटले सर्वाधिक ९६ रन बनाए भने डेबिड मलानले ४२ रनको योगदान दिए ।
खेलमा कप्तान ह्यान्ड्सकम्बले १६ बलमा २ चौका र १ छक्काको मद्धतमा अविजित २१ तथा टिम डेबिडले २ बलमा अविजित ७ रन बनाउँदै हरिकेन्सलाई सहज जित दिलाएका थिए।
थंडरको बलिंगतर्फ तन्विर साँगाले सर्वाधिक २ तथा न्याथन म्याकएन्ड्रयु र एडाम मिल्नेले समान १।१ विकेट लिएका थिए ।
यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको थंडरले निर्धारित २० ओभरमा ५ विकेट गुमाए १ सय ७७ रन बनाएको थियो।
थंडरको ब्याटिंगमा स्याम बिलिंग्सले सर्वाधिक ५० रन बनाए भने एलेक्स हेल्सले २९, उस्मान खवाजाले २७ तथा कलम फर्गुसनले २३ रनको योगदान दिए।
होबार्टको बलिंगमा स्कोट बोल्याण्डले सर्वाधिक ४ तथा न्याथन एल्लिसले १ विकेट हात पारे। नेपाली क्रिकेट स्टार यो संस्करणको बीबीएलमा दोस्रो पटक लगातार विकेट विहिन रहे ।
सन्दिपको प्रदर्शन
जारि सिजन बिग ब्यास लिग अन्तर्गत व्यक्तिगत पाचौं खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछाने ४ ओभरमा २३ रन खर्चिएर विकेटविहिन रहे।
पावरप्ले भित्र पाँचौ ओभरमा बलिंग सुरुवात गरेका सन्दीपले पहिलो ओभरमा मात्र ६ रन खर्चिए। क्रिजमा जमीसकेका एलेक्स हेल्स र उस्मान ख्वाजालाई सन्दिपलाई खुलेर खेल्न दिएनन।
सातौँ ओभरमा दोश्रो स्पेल लिएर आएका सन्दीपलाई ओभरको चौथो बलमा उस्मान ख्वाजाले चौका हिर्काए। त्यस बाहेक सन्दिपले ओभरमा कसिलो बलिंग गरे। यसमा उनले ९ रन दिए ।
दशौँ ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। पहिलो बल डट गरेपछि बाँकी ५ बलमा कलम फर्गुसन र स्याम बिलिंग्सले १ । १ रन लिंदै ओभर सके।
१३ औं ओभरमा चौथो स्पेल लिएर आएका सन्दिपलाई दोश्रो बलमा कलम फर्गुसनले चौका हिर्काए। ओभरमा सन्दिपले लेग स्टम्प बाहिर दुई वटा वाइड बल फाले। यो ओभरमा सन्दीपले १० रन बनाउन दिए ।
प्रतियोगितामा यो सिजन सन्दिपले ५ खेलमा ४ विकेट लिएका छन्। उनले सिजनको पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध पहिलो खेलमा २ विकेट दोस्रो खेलमा १ विकेट लिएका थिए। यस्तै तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध सन्दिपले १ विकेट लिएका थिए।


















