काठमाडौं, ६ माघ । आफ्नो पार्टी नेतृत्व र संरचनालाई उपेक्षा गरी संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई राजनीतिक मैदानबाट बाहिर पार्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष द्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पत्रकारहरुसंग आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनको रुपमा रहेको प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलालाई संबोधन गर्दै पार्टीभित्र चिरा परेर विभाजित अवस्था पुगेको नेकपाका नेताहरुले सो आग्रह गर्नुभएको हो ।
भित्ता पुर्याईदिने प्रचण्डको धम्की
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जनयद्धको कमाण्डर भएको उल्लेख गर्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्याइदिने चेतावनी दिनुभएका थियो।
उहाँले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिंदै भन्नुभयो ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्न?
नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेको उल्लेख गर्दै भन्नुभयो,’निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो। डाँडाको बीचको सूर्य चिह्न पाउनुभयो। मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ।’
उहाँले प्रधानमन्त्री ओलीले पटक पटकको प्रयासपछि पार्टीमा संकट ल्याएको उल्लेख गर्दै भन्नुभयो, ‘पहिलो र दोस्रो पटकको प्रयासलाई असफल बनायौँ। तर, तेस्रो पटकमा उहाँले पार्टीमा यो संकट ल्याउनुभयो ।पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि संकट निम्तियो।’
बैठकको लागि लिखित रुपमा बहुमतको सदस्यले माग गर्दा पनि आफूलाई लक्षित गरेर आरोप पत्र प्रहार गरेको प्रचण्डले जिकिर गर्नुभयो। नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई देश र जनताको हितमा काम गर्न कसैले नरोकेको बताउदै भन्नुभयो, ‘हामी सबै प्रधानमन्त्री भयौँ। तर, छाड्दा पार्टी फुटाउन परेन।’
अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो ? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न?’
‘उहाँले गतबर्ष माघको केन्द्रीय कमिटीबाट आत्तिएर मलाई ध्वस्त पार्ने अभियानमा लाग्नुभयो। प्रचण्डलाई अध्यक्ष मान्दिनँ कुर्सी पनि दिन्न भनेर मेरो कुर्सी पनि हटाइदिनुभएछ’, नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ओली पात्रको रुपमा आफैं परिचित भइसक्नुभयो। संसद भंग गरेपछि ओलीको सबै सकिसक्यो। उहाँको हातमा केही छैन।’
‘अदालत र निर्वाचनमा सेटिङ भइसक्याछ भन्नुको अर्थ के हो ?’ भन्ने प्रश्न गर्दै प्रचण्डले सोध्नुभयो, ‘त्यो सेटिङ के हो ? म अहिले आयोग र अदालतलाई केही भन्दिनँ। मलाई अझै पूर्ण रुपमा विश्वास छ। संविधान र ऐन कानून अनुरुप नै मुद्दाहरुको निर्णय हुनेछ । ‘
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर देशलाई अराजकताको भूमरीमा लाने प्रयास गरेको भन्दै त्यसलाई जसरी भए पनि रोक्नुपर्ने बताउनुनभयो ।
उहाँले प्रधानमन्त्री ओलीले वर्तमान संविधान र यसले संस्थागत गरेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको हत्या गर्न खोजेको आरोप लगाउदै भन्नुभयो, ‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ भने त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ।’
नेपाली जनता सिंहको संज्ञा दिँदै भएको दाबी गर्दै सबैले एकपटक गर्जिएर ओलीको तानाशाही र निरङ्कुश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
ओलीको गलत कार्यको फेहरिस्त खोतलौ
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री के.पी. ओलीको सरकारले गरेका गलत कार्यहरुको फेहरिस्त खोजी गरेर सार्वजनिक गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।
अध्यक्ष नेपालले सबैको साझा उद्देश्य नेपालका हालसम्मका आन्दोलनहरुले हासिल गरेको उपलब्धिको रक्षा गर्नूभएकोले त्यसका लागि सकारात्मक भूमिका खेल्न आग्रह गर्दै भन्नुभयो ‘अहिले साइबर सेना बनेको छ रे। तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस्।’
अध्यक्ष नेपालले आफू निकटका पत्रकारहरुलाई ओलीको झुटो कुरालाई खोजी खोजी बाहिर ल्याउन आग्रह गर्दै भन्नुभयो, ‘तपाईहरु खोजी पत्रकारितमा लाग्नुहोस्, ओलीको सबै गलत फेहरिस्त ल्याउनुहोस्।’