
नयादिल्ली(भारत) । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने इण्डियन क्रिकेट लिग (आइपीएल) २०२१ को लागि दिल्ली क्यापिटलको बन्धनबाट मुक्त भएका छन् ।
दिल्ली क्यापिटल्सले आईपीएल २०२१ को अक्सन सुरु हुन १ महिना भन्दा कम समय बाँकी रहंदा बुधबार टिमसंगको अनुबन्धमा नरहने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। जसमा नेपाली क्रिकेट स्टार पनि सामेल छन् ।
सन् २०१८ मा दिल्ली डियर डेभिल्सले सन्दीपलाई बार्षिक २० लाख भारतीय रुपैयामा तीन बर्षको लागि अनुवन्ध गरेको थियो । जुन सन २०२० को आईपीएलको समापनसंगै समाप्त भएको थियो ।
आईपीएल २०२० को उपविजेता दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछाने र इंगलिस ब्याट्सम्यान जेसन रोयलाई टिमबाट रिलिज गर्ने निर्णय गरेको छ।दिल्लीले जेसन रोय सहित अस्ट्रेलियाका एलेक्स केरी, भारतका मोहित शर्मा र अस्ट्रेलियाका ड्यानियल स्याम्सलाई पनि रिलिज गर्ने भएको छ। स्याम्सलाई दिल्लीले पेसर ड्यानियल स्याम्सलाई बैंगलोरसंग ट्रेड गरेको छ।
दिल्लीले २०२० आईपीएलमा टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिसलाई ४.८ करोड भारतीय रुपैयाँ मूल्यमा टिममा रिटेन गर्ने निर्णय गरेको छ।
आईपीएलका २०१८, २०१९ र २०२० का तिन संस्करणमा सन्दीप दिल्लीसंग आबद्ध रहेका थिए।
रिलिज भएपछि अब नेपाली लेग स्पिनरलाई आईपीएल २०२१ को अक्सनमा बिभिन्न टिमहरुले बोलि लगाउनेछन्। यो पटक सन्दीपले पहिले भन्दा बढी मूल्य पाउने अपेक्षा गरिएको छ। स्पिन पक्ष कमजोर रहेको टिमले सन्दीपलाई बोलि लगाउन सक्नेछन्।
सन्दिपले आईपीएलको २०२० पूरा खेलअवधि बेन्चमै बिताउनु परेको थियो। टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता बलर हुनु तथा विदेशी खेलाडीहरु कागीसो रबा’डा, मार्कस स्टोइनिस, शिमरन हेटमायर, एनरिक् नोर्कियाले लगातार मौका पाउनुले सन्दीपलाई अन्तिम ११ मा पर्न रोकेको थियो।
आईपीएल २०१८ र २०१९ मा सन्दिपले कुल ९ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए ।
अन्य विदेशी लिगहरुमा करोडको हाराहारीमा पारिश्रमिक पाउदै आएका सन्दीपलाई दिल्लीले रिलिज गरेपछि अब कुन टिमले कतिमा उनलाई लिने छ भन्ने कुरा नेपाली क्रिकेट प्रेमीहरुले बडो उत्सुकतापूर्वक हेरिरहेका छन् ।
अहिले अस्ट्रेलियाको बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सको प्रतिनिधित्व गरिरहेका सन्दीपले हालसम् ५ खेलमा ४ विकेट लिएका छन् ।