
काठमाडौं, ८ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभाको असंवैधानिक विघटन, दुई तिहाईको दुहाई दिंदै यो कार्यकालमा भएका भ्रष्टाचार र अकर्मण्यता आम जनतालाई सचेत बनाउन नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्ने भएको छ।
नेपाली कांग्रेसको विरोध प्रदर्शन शान्तिपूर्ण हुने छ । विरोध प्रदर्शनपछि नेपाली कांग्रेसका हरेक वडा इकाईले विरोध सभाको आयोजना गर्ने छन् । ती वडाहरुमा रहेका नेपाली कांग्रेसका विभिन्न तहका नेता एवम् कार्यकर्ता, भातृ एवम् शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवम् सदस्यहरुले पनि संवन्धित वडामा नै सहभागिता जनाउने भएका छन् ।
देशव्यापी वडास्तरीय विरोध प्रदर्शनको पूर्व संन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै विरोध प्रदर्शनमा सहभागी हुन समस्त लोकतन्त्रवादीहरुलाई अपिल गर्नुभएको छ।
सभापति देउवाले प्रतिनिधि सभाको विघटन नेपालको संविधान र जनमतविरुद्ध भएकोमा कांग्रेस एकमत रहेको उल्लेख गर्दै सबै असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न समस्त लोकतन्त्रावदीहरुमा अपिल गर्नुभएको छ ।
सभापति देउवाको विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एक मत छ । ‘पार्टीका सवै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’
नेपाली कांग्रेसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै यसअघि पौष १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पौष २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।