
काठमाडौं, ८ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा, भोला थापा नियुक्त हुनुभएको छ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको हो ।
उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए। तीमध्ये प्रा.डा. रामकण्ठ मकाजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो।
समितिले १० वटा विभिन्न मापदण्डका आधारमा नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।