मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान सुरु हुनेछ।
यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेका प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीनवटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।
एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्याउने छ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्याउने छ । सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजक खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ । खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ ।
सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ ।