काठमाडौँ, ८ माघ । नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’को इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर भएको छ ।
बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलीय राजदूत खनान गोडेरले बिहिबार श्रम तथा रोजगार मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा सो प्रोटोकलमा हस्ताक्षर गर्नुभएको थियो ।
‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ हस्ताक्षरको इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेसँगै तत्कालका लागि ५ सय जना नेपाली नागरिक इजरायलका केयरगिभरका रुपमा काम गर्न जाने बाटो खुलेको छ ।
गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो ।

सो सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गर्नुभएको थियो ।त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि बिहीबार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।
बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिने बताउनुभएको थियो भने श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषि क्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गर्नुभएको थियो ।
इजरायलको श्रम कानुन निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । इजरायललाई श्रमिकमैत्री र आयआर्जन राम्रै हुने देशका रुपमा लिइन्छ ।
यो संझौता पछि नेपाली श्रमिकहरुले इजरायलमा केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ । नेपाली युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रुपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।
यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र ९अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत० मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।
इजरायलमा करीब २ हजार ५ सयको सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ ।
इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र ९जिटुजी० बाट नेपाली इजरायल जानेछन् । सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुनेगरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाइएको छ ।
इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ । यसअघि २००९ सम्म म्यानपावरले पाइलट प्रोजेक्टअन्तर्गत इजरायलमा कामदार पठाउँदै आएका थिए । तर म्यानपावरले कामदार पठाउन धेरै रकम असुलेको गुनासो बढेपछि उक्त प्रक्रिया रोकिएको थियो ।


















