Prakash Adhikari January 26, 2021

 

नयाँदिल्ली (भारत), १३ माघ (बीबीसी) । भारत सरकारको कृषि नीति र केही महिना अगाडि ल्याइएका तीनवटा कृषिसम्बन्धी कानूनकाविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश गरेका छन्।

भारतको गणतन्त्र दिवसकै अवसरमा आयोजित एउटा विशाल र्‍यालीमा सहभागी भएका किसानहरू ट्र्याक्टर तथा पैदल आएका थिए।

धेरै प्रदर्शनकारीहरू पहिला निश्चित गरिएका मार्गहरूबाट नहिँडीकन अघि बढ्न खोज्दा प्रहरीसँग भिडन्त भएको थियो। एक प्रदर्शनकारीको मृत्यु भएको छ।

दिल्ली ट्र्याक्टर र्‍यालीदिल्ली ट्र्याक्टर र्‍यालीदिल्ली ट्र्याक्टर र्‍यालीदिल्ली ट्र्याक्टर र्‍याली भारतीय किसान आन्दोलन

सुरक्षाकर्मीहरू शान्ति पुनर्स्थापित कायम गर्ने प्रयासमा लाग्दा दिल्लीका केही स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ।

सरकारले हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन। तर गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका अधिकारीहरूसँग त्यहाँको स्थितिबारे छलफल गरेको बताइएको छ।

किसानहरूले भारतको राष्ट्रिय झण्डाबाहेक अरू झण्डा पनि लालकिल्लामा गाडे। प्रहरीका अनुसार प्रदर्शनकारीहरूलाई लालकिल्ला परिसरबाट हटाइएको थियो।

तर साँझसम्म त्यहाँको तनाव देखिएको थियो।

अवरोध तोडेपछि अश्रुग्यास

गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्दा आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको छ।

दशौँ हजारको सङ्ख्यामा किसानहरू ट्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन्।

केही स्थानमा उनीहरूले प्रहरीले खुला राखेका बाटो छोडेर बन्द गरेका बाटोमा प्रवेश गरेका बताइएको छ।

महिनौँदेखि किसानहरूको सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका छन्।

सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागु नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका हुन्।

प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरी र्‍याली गर्न दिन सहमति जनाएको थियो।

दिल्ली प्रवेशको छ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो। तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढे।

उनीहरूले कृषिलाई खुला बजारमा लग्ने कानुनको विरोध गरिरहेका हुन्।

 

Share Now

Leave a comment.