Prakash Adhikari January 29, 2021

 

काठमाडौँ, १६ माघ । कक्षा ११ र १२ मा  समाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षाको विकल्पमा गणित  विषय पठनपाठन गर्न पाइने व्यवस्था गरिएको छ ।

पाठ्यक्रम प्रारुप २०७६ परिमार्जन गर्दै अनिवार्य सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको सट्टामा गणित विषय पनि अध्ययन गर्न पाइने व्यवस्था गरिएको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले प्रारुप परिमार्जन गर्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

यसअघि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा सहित अंग्रेजी र नेपाली विषयलाई अनिवार्य विषयको रुपमा राखिएको थियो । गणितलाई अवमूल्यन गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।

सर्वोच्चले गणित विषयलाई सम्बोधन गर्नुपर्ने आशयको आदेश दिएको थियो । अदालतको आदेशअनुसार यहि शैक्षिकसत्र देखि गणित वा सामाजिक अध्ययन विषय रोजेर पढ्न पाउने गरी पाठ्यक्रम प्रारुप परिमार्जन गरिएको केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिनुभएको छ ।

 

सर्वोच्चको फैसला पछि चालू शैक्षिकसत्र देखि नयाँ पाठ्यक्रम लागु गर्दै विद्यार्थीले गणित वा समाजिक अध्ययनमध्ये एक विषय रोजेर पठन पाउने व्यवस्था गरिएको हो ।

यसअघि गणितलाई ऐच्छिक विषयका रुपमा मात्र समेटिएको थियो । उच्चशिक्षामा विज्ञान लगायत प्राविधिक क्षेत्र अध्ययन गर्न चाहाने विद्यार्थीले कक्षा ११ र १२ गणित पढ्न पाउने पर्ने माग उठेको थियो ।

 

यी विषयलाई अनिवार्य तथा ऐच्छिकको सूचीमा राखिएको छ ।  सामाजिक अध्ययन विषयको पठनपाठनको माध्यम भाषा भने नेपाली नै हुनुपर्ने व्यवस्था पाठ्यक्रममा गरिएको छ ।

 

Share Now

Leave a comment.