
आबुधावी(संयुक्त अरब इमिरेट्स), १६ माघ । संयुक्त अरब इमिरेट्समा सञ्चालन भैरहेको अबुधाबी टि-१० लिगमा नेपालका तीन खेलाडी सोमपाल कामी, करण के.सी. र कुशल मल्लले खेलाडीका रुपमा र नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले युवा खेलाडी मेन्टरका रुपमा सहभागी बन्न अवसर पाइरहेका छन् ।
नेपालका तीनजना खेलाडी आवद्ध टिमकोप्रदर्शन कस्तो रह्यो त ? छोटो समीक्षा :
सोमपाल कामी र मराठा अरबियन्स
नेपाली खेलाडी सोमपाल कामी आबद्ध टिम मराठा अरबियन्स दोश्रो खेलमा दिल्ली बुल्ससंग पराजित भएको छ।
शेख जायद स्टेडीयम, अबुधाबीमा शुक्रबार सम्पन्न खेलमा मराठाले दिएको ८८ रनको लक्ष्य दिल्लीले मात्र १ विकेट गुमाएर ५ ओभरमै भेटायो। दिल्लीको लागि ओपनर इभिन लुइसले १६ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए। यस्तै रभी बोपाराले १२ बलमा ५ चौका मद्दतले २८ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि कप्तान मोसद्देक हुसेनले सर्वाधिक ३५ रन तथा जाभेद अहमदीले २४ रन बनाए। दिल्लीका बलर अमद बट, फिडेल एडवार्ड्स र अलि खानले १/१ विकेट लिए।
सोमपालको महँगा सावित
इनिंग्सको दोश्रो ओभरमा बलिंग गर्न आएका सोमपालको पहिलो ३ बलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेटर रहीसकेका रभी बोपाराले लगातार चौका प्रहार गरे। चौथो बलमा सोमपालले रन दिएनन्। तर पाँचौ बलमा बोपाराले पुनः चौका हिर्काएर चौका संख्या ४ पुर्याए। अन्तिम बलमा सोमपालले १ रन दिए। पहिलो स्पेलमा सोमपालले १७ रन खर्चिए।
उद्घाटन खेलमा टीम विजयी
युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा चौथो संस्करणको ‘अबु धाबी टी-१० लिग’सुरु भएको छ। लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सोमपाल कामी आवद्ध टिम डिफेन्डिङ च्याम्पियन मराठा विजयी सुरुवात गरेको थियो।
शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा नर्थर्न वारियर्सले दिएको १ सय २८ रनको लक्ष्य मराठाले अन्तिम बलमा भेटायो।
मराठालाई जिताउन युएई राष्ट्रिय क्रिकेटर समेत रहेका अब्दुल शाकुरले ७३ रन बनाए। मोहम्मद हफिजले १९ रनको योगदान दिए। मोसद्देक हुसेनले अविजित ९ रन बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको नर्थर्न वरियर्सले १० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो। उसको लागि ओपनर लेन्डल सिमोन्सले ५४ रन बनाए भने ओपनर ब्रेण्डन किंगले २९ रन, कप्तान निकोलस पुरनले १९ रन तथा रोभम्यान पावेलले २२ रन बनाएका थिए।
मराठाको बलिंगमा एक मात्र विकेट मुख्तर अलिले लिएका थिए नेपाली फास्ट बलर सोमपाल कामी २ ओभरमा २८ रन खर्चेर विकेटविहिन रहेका थिए।
पहिलो र दशौँ ओभरमा बलिंग गरेका नेपाली फास्ट बलरले २ ओभरमा २८ रन खर्चिए। पहिलो ओभरमा उत्कृस्ट सुरुवात गर्ने क्रममा सोमपालले मात्र ८ रन खर्चिएका थिए। दोश्रो ओभरमा उनले २० रन खर्चिए।
सोमपालको मराठाले लिगमा शनिबार राति ५ :४५ बजे बंगला टाइगर्स बिरुद्ध खेल्नेछ।
पुणे डेभिल्समा करण के.सी.
युएईमा भैरहेको अबुधाबी टी-१० लिग अन्तर्गतको दोश्रो खेलमा नेपाली खेलाडी करण के.सी. आवद्ध पुणे डेभिल्सले डेक्कन ग्ल्याडिएटर्सलाई ७ विकेटले पराजित गरेको छ।
शेख जायद स्टेडीयम अबुधाबीमा सम्पन्न खेलमा डेक्कनले दिएको १ सय ५ रनको लक्ष्य पुनेले ९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
पुणेको ब्याटिंगमा ओपनर केनर लुइसले अविजित ५७ रन बनाए भने चाडविक वाल्टनले १८ रन बनाए।
डेक्कनको बलिंगमा सुनिल नारायण, रभी रामपौल र जहुर खानले समान १ विकेट लिए।
यस अघि टस जितेर पुनेले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको डेक्कन ग्ल्याडिएटर्सले निर्धारित १० ओभरमा १ सय ४ रन बनाएको थियो।
डेक्कनको लागि क्यामरन डेलपोर्टले २५ रन, प्रशान्त गुप्तले १७ रन बनाए। मोहम्मद शहजादले ८ रन, सुनिल नारायणले १ रन तथा काइरन पोलार्डले २ रन मात्र बनाउन सके।
पुणेको बलिंगमा कप्तान नासिर हुसेनले सर्वाधिक ३ विकेट लिए। ओमानका फास्ट बलर मुनिस अन्सारीले २ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ११ रन खर्चिए।
खेलमा नेपाली फास्ट बलर करण केसीले १ ओभर मात्र बलिंग गर्ने क्रममा कुल १७ रन खर्चिए।
छैठौं ओभरमा पहिलो स्पेल गरेका करणले पहिलो र दोश्रो बलमा मात्र १ रन दिए। तेश्रो बलमा प्रशान्त गुप्ताले चौका हिर्काए। चौथो बलमा दक्षिण अफ्रिदी ब्याट्सम्यान क्यामरन डेलपोर्टले छक्का हिर्काए। पाँचौ बलमा डेलपोर्टले अर्को छक्का हिर्काए । बलमा एउटा फिल्डर ३० यार्ड सर्कल बाहिर राख्दा डेक्कनले नो बल पायो। त्यसपछिको बलमा डेलपोर्टले २ रन र अन्तिम बलमा १ रन लिंदै ओभर समाप्त गरे।
कुशलको टिम आबुधावी
युएईमा जारी अबुधाबी टी(१० लिग अन्तर्गत छैठौं खेलमा नेपाली खेलाडी कुशल मल्ल आबद्ध टिम आबुधानीलाई काइरन पोलार्ड कप्तानीको डेक्कन ग्ल्याडिएटर्सले ६ विकेटले पराजित गरेको छ ।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा टिम आबुधाबीले दिएको ९६ रनको लक्ष्य डेक्कनले ३ विकेट गुमाएर ९।४ ओभरमा पूरा गर्यो।
डेक्कनको लागि ओपनर क्यामरन डेलपोर्टले सर्वाधिक ४० रन बनाए । कप्तान पोलार्डले २४ तथा मोहम्मद शहजादले २१ रन बनाए।
डेक्कनलाई रोक्ने क्रममा टिम आबुधाबीका बलर जेमी ओभरटनले ३ तथा रोहन मुस्तफाले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको टिम आबुधाबीले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। आबुधाबीको लागि कप्तान लुक राइटले सर्वाधिक २५ रन तथा जोए क्लार्कले २१ रन बनाए। क्रिस गेलले ४ र पल स्टरलिंगले समान ४ रन बनाउन सके।
डेक्कनको बलिंगमा जहुर खानले ३ विकेट लिए भने इम्तियाज एहमदले २ विकेट तथा इमरान ताहिर र सुनिल नारायणले १/१ विकेट लिए।
खेलमा टिम आबुधाबीले नेपाली ब्याट्सम्यान कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएन।
आबुधाबीले आगामी खेल शनिवार कलन्दर्स बिरुद्ध खेल्नेछ। खेल नेपाली समय ८ बजे सुरु हुनेछ। शनिवारनै सोमपाल कामी आवद्ध मराठाले बंगला टाइगर्ससंग ५ ; ४५ बजे बेलुका खेल्नेछ।