पोखरा(कास्की), २२ माघ । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तबीर लामाले पोखरामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय(आइएमएम) नेपालका पर्वत र पवतीय जनजीवनका बारेमा जानकारी लिने र अध्ययन गर्ने स्थलको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
पोखराको रातो पैह्रेमा अवस्थित संग्राहलयको १५औं स्थापना दिवसको अवसरका सोमबार संघद्धारा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय नगरी पोखरामा नेपाल पर्वतारोहण संघले स्थापना गरेको संग्राहलय पर्यटकहरुको आकर्षको केन्द्र बन्दै गएको बताउदै यसको विकासमा महानगरपालिकाले सक्दो सहयोग गर्ने बचन दिएका थिए ।
विश्वका सबैभन्दा उच्च पर्वतहरु रहेको नेपालमा भएका पर्वतहरुको विशेषता, पर्वतीय गतिविधि र पर्वतीय क्षेत्रका बासिन्दाको जनजीविकाका साथै पर्वतीय क्षेत्रको जलवायु र वातावरणको बारेमा एकै थलोबाट जानकारी दिदै पर्वतीय संस्कृतिको जगेर्ना गर्न स्वदेशी र विदेशी सबैलाई अभिप्रेरित गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघले सो संग्राहलयको स्थापना गरेको हो ।
बिसं २०६० साल माघ २२ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेपछि औपचारिक रुपमा संचालनमा आएको संग्राहालयमा दिनहुँ सयौं स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
एक सय रोपनी क्षेत्रफलमा फैलिएको संग्राहालयमा पर्वतीय जनजीवन कक्ष, पर्वत शाखा कक्ष, संसारका ८ हजार मिटर माथिका १४ वटा हिमालहरूको भौगोलिक अवस्थिति र आरोहण गतिविधिका तथ्य अंकित कक्षहरु रहेका छन्।
संग्रहालयमा भौगर्भिक संरचना, चट्टान तथा हिमालको उत्पति वनस्पति, जीवजन्तुबारेमा जानकारी गराउने सामग्री पनि राखिएका छन् ।
यस्तै नेपालको पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तित्व स्व कुमार खडग्विक्रम शाह, स्व. डा. हर्क गुरूङ, स्व.डा.टोनी हेगन, पहिलो पर्यटक इकाई कावागुची र स्व. दाबानोर्बु शेर्पाबारे विस्तृत जानकारी दिने सामग्री पनि संग्राहलयमा रहेका छन् ।
संग्राहालयभित्र विशेष श्रव्य दृष्य कक्ष, पुस्तकालय, लाखाङ्ग, सभा कक्ष रहेको छ।
संग्राहालयको हातामा मनोरम चट्टानी बगैचा र ३१ फिट अग्लो मनास्लु हिमालको नमुनासँगै कृतिम आरोहण पर्खाल निर्माण गरिएको छ ।
संग्राहलयको परिसरमा नेपाल पर्वतारोहण संघका संस्थापक अध्यक्ष स्व.कुमार खडग्बिक्रम शाह, स्व.डा.हर्क गुरुङ्ग, स्व.दावा नोर्बु शेर्पाको अर्धकद शालिक निर्माण गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष सन्तबीर लामाको सभापतित्व सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त सञ्चालक अवधेशकुमार दास, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुड., सचिव टिकाराम गुरुड., कोषाध्यक्ष सुदर्शन न्यौपाने लगायत नेपाल पर्वतारोहण संघका पदाधिकारीहरु र पर्यटन विज्ञ तथा व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थापना दिवसको उपलक्ष्यमा ‘उहिले र अहिलेको पोखरा : सडकले जोडिएपछिका ५० बर्ष ‘ विषयक छलफल कार्यक्रम पनि गरिएको थियो ।