Prakash Adhikari March 28, 2021

काठमाडौं, १५ चैत्र । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बढ्दै गएको तुवाँलो (धूलो र धुँवाको मिश्रण)ले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्।

केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार र आइतबार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ।

उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ।

कसरी बढ्यो वायु प्रदूषण ?

अधिकारीहरूका अनुसार काठमाडौं उपत्यका र देशका अधिकांश भागमा आकाशै ढाक्नेगरी तुवाँलो लाग्नुका विभिन्न कारणहरू छन्।

एउटा कारण यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनु नै तुवाँलो र प्रदूषणको कारण भएको वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले बताउनुभयो।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

तुवाँलो लाग्नुका अन्य कारणमा ‘चैतको हावाहुरी चल्ने समयमा काठमाडौंसहित देशका धेरै स्थानमा हावा ठप्पजस्तो बसेको छ। पछिल्लो समय तराईतिर लागेको डढेलोबाट निस्किएको धुवाँ भैँसेपाटी क्षेत्र हुँदै उपत्यका प्रवेश गरेको छ। भने देशका अन्यभागमा पनि डँढेलो बढ्दै गएको छ । पानी नपर्ने र हावा नचल्ने कारणले यस्तो भएको हो।’

उपत्यकामा अहिले देखिएको अवस्था एकाएक उत्पन्न भएको भने होइन।केही दिनदेखि वायुमण्डलमा रहेको प्रदूषणको मात्रा उच्चबिन्दुमा पुगेकाले अहिलेको अवस्था आएको हो।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताउनुभएको छ।

सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने अवस्था छ।

नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ। विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो।

नेपालमा एकै दिन झन्डै ५०० ठाउँमा, पानी नपरे ‘झन् बढ्न सक्ने

जल तथा मौसम विज्ञान विभागका अधिकारीका अनुसार शनिवार र आइतबार पनि मौसममा खासै सुधार आएको छैन।

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार उपत्यकाको वायुमण्डल स्थिर रहेको छ।

‘हावाको गति स्थिर रहेकाले भिजिबिलिटीको अवस्था उस्तै छ’, नगरकोटीले भन्नुभयो, ‘यो तुँवालो हट्नका लागि कि हावाको गति बढ्नुपर्छ कि त वर्षा नै हुनुपर्छ।’

विभागका अनुसार उपत्यकामा अझै दुई दिनसम्म यस्तै अवस्था रहन सक्ने देखिन्छ।

त्यसपछि पश्चिमी वायुको प्रभाव केही मात्रामा देखिने भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेकाले पूर्ण रूपमा तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ।

अहिलेको तुँवालो लाग्नुको एउटा कारण नेपालको दक्षिणी भेगमा लागेको डढेलो भए पनि त्यसबाहेकका कारणबारे अध्ययन नै गर्नुपर्ने मौसमविद् नगरकोटीले बताउनुभयो।

के भन्छ सरकार ?

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सबैलाई सावधानी अपनाउन आग्रह गरेको थियो।

मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।

चिकित्सकहरूका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू पनि पर्न सक्छन्।

यो प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ।

त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढेको छ।

डा. ढकालले भन्नुभयो, ‘यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ।’

स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने ढकालले बताउनुभयो।

उहाँका भनाइमा वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ।

‘यसले फोक्सोका दीर्घरोगीलाई त निकै गाह्रो बनाउँछ नै, दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्छ’,उहाँले भन्नुभयो।

फोक्सोको एक्सरे

फोक्सोको एक्सरे

आँखामा असर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी उपप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ।

उहाँका भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ।

अल्पकालीन प्रभावबारे डा. खरेलले भन्नुभयो, ‘अहिलेको वायुमा कार्बन मनक्साइड , नाइट्रस अक्साइड आदि (हानिकारक ग्यास) को मात्रा छ। त्यसले गर्दा अक्युलर सर्फेस डिस्अडर अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ।’

“त्यस्तै ‘ड्राई आई सिन्ड्रोम’ अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन्।”

प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढेको उनले बताइन्।

त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्ने उनको भनाइ छ।

उनका अनुसार वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ।

आँखा

आँखा

फोक्सो र आँखा जोगाउन के गर्ने ?

अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने डा. ढकालको धारणा छ।

सबैभन्दा बढी प्रदूषण बिहान ५ बजेदेखि ८ बजेसम्म हुने भएकाले सो अवधिमा प्रातः भ्रमणमा पनि ननिस्कन उहाँले श्वासप्रश्वासका रोगीलाई सुझाव दिनुभएको छ।

फोक्सोका रोगीहरूले मास्क लगाएर पनि बाहिर जाँदा सुरक्षित नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार बजारमा सजिलै पाइने कतिपय मास्कको गुणस्तर राम्रो नभएकाले अहिलेको जस्तो प्रदूषणबाट जोगिन त्यति सजिलो छैन।

घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न र धूमपान नगर्न ढकालले आग्रह गर्नुभएको छ।

डा. सिटौलाका अनुसार आँखालाई बचाउनका लागि फोक्सो बचाउन मास्क लगाए जस्तै चस्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ।

यस्तो प्रदूषणका बेला ‘कन्ट्याक्ट लेन्स’ लगाउनेहरूलाई नलगाउन डा. खरेलले सुझाव दिनुभएको छ ।

त्यसले आँखालाई थप सुक्खा बनाउने र घाउ हुनसक्ने खतरा बढाउछ ।

नेत्र चिकित्सकहरुले कुनै प्रिजर्भटिभ नभएको नक्कली आँसु प्रयोग गर्ने र दिनमा दुईदेखि तीन पटकसम्म सफा चिसो पानीले आँखा सफा गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ।

तर धेरै पटक पानीले आँखा धोइरहनु प्रत्युत्पादक हुनसक्ने उहाँले बताउनुभयो।

उहाँले आँखा नमिच्न र हात सफा गरिरहनु गर्न तथा सङ्क्रमण भएमा चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्न पनि सुझाउनुभएको छ।

(बीबीसी नेपाली सेवाबाट)

 

Share Now

Leave a comment.