Prakash Adhikari February 9, 2018

काठमाडौं,२६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक पद्धतितर्फ दलहरुले पाएको मत र सिट संख्या सार्वजनिक गरेको छ ।

आयोगका अनुसार नेकपा एमालेले समानुपातिक तर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ भने नेपाली कांग्रेसले ३१लाख २८हजार ३ सय ८९ पाएको छ ।, माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत ल्याएको छ । संघीय समाजवादी फोरमाले ४ लाख ७२ हजार २ सय ५४ मत पाएको छ भने राजपाले ४ लाख ७० हजार २ सय १ मत ल्याएको छ ।

आयोगले दलहरुलाई उनीहरुले पाएको सिटमा पठाउनुपर्ने महिलाको न्यूनतम संख्याको किटानी सहित पत्र पठाएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा सहभागि भएका ४९ दलमध्ये ५ दलले मात्र समानुपातिकका सिट प्राप्त गरेका छन् ।

संंविधानमा ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको १ सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६र६ सिट पाएका छन् ।

आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ ।
एमालेले ४, कांग्रेसले २०, माओवादी र फोरमले १ ।१ जना पुरुषलाई समानुपातिकबाट सांसद बनाउन पाउनेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ ।

आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।

Share Now

Leave a comment.