सिमरा(बारा), २६ माघ । सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले आयोजक नवजनजागृति युवा क्लव(निलो)लाई पराजित गर्दै नवौँ सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बाराको सिमरा रंगशालामा शुक्रबार भएको खेलमा आयोजक नवजनजागृति युवा क्लब (निलो)लाई २–० गो अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।
एपीएफका लागि खेलको ७२औँ मिनेटमा रवि थिङ र इन्जुरी समयको तेस्रो मिनेटमा रञ्जन विष्टले गोल गरेका थिए।
रञ्जन विष्ट खेलको म्यान अफ द म्याच घोषित भएका थिए। शनिबार सिमराको एनजेजेवाइसी ‘सेतो’ र मोरङ फुटबल क्लब विराटनगरबीच क्वाटर फाइनल खेल हुने छ।
प्रतियोगिताको बिजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ ।
फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकको सेतो र निलो टोली, बिजय युथ क्लब, रुस्लान थ्रीस्टार, सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, नेपाल एफिएफ, त्रिभुवन आर्मी क्लब, बिरगंज युनाइटेड क्लब र सिएमजी संकटा क्लब गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ ।