Prakash Adhikari February 10, 2018

 

सिउल(दक्षिण कोरिया), २७ माघ । दक्षिण कोरियामा कार्यरत नेपालीहरुमध्ये आत्महत्या गर्नेहरु भाषा,चिसो,दवाव र तनावको कारण त्यस्तो परिस्थितिमा पुगेको रहस्य खुलेको छ ।

कोरियामा कार्यरत नेपाली कामदारहरुको आत्महत्या दर बढी देखिए पछि त्यसको कारण खोजी समाधान पत्ता लगाउने उद्देश्यले कोरिया पुगेको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

भाषा नजान्दा आफ्नो समस्या भन्न नसक्ने र काम धेरै गर्नुपर्ने भएकाले त्यसको तनावमा आत्महत्या गर्ने गरेको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिएका छन ।

कोरियामा शिक्षित युवा जाने गरेको तर कडा परिश्रम पर्ने काम गर्नुपर्दा त्यसको तनावले आत्महत्या गर्ने गरेको शाखाका निर्देशक खतिवडाले बताए । उनका अनुसार धेरैजसो स्नातक, स्नातकोत्तर पढेका युवा कोरिया पुगेका छन् ।

यस्तै त्यहाँको चिसो वातावरण र साहुको दबाब पनि आत्महत्याको कारण रहेको टोलीले निष्कर्ष निकालेको छ । मानसिक रोग र मुटुरोगका विशेषज्ञ डाक्टरसहितको टोली कोरियामा नेपालीको मृत्यु बुझ्न दुई सातापहिले कोरिया गएको थियो ।

टोलीमा मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा। मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा। रामकिशोर शाह पनि सम्मिलित थिए ।

टोलीले कोरियामा स्वास्थ्य जाँच गर्दै कामदारलाई परामर्श दिएको छ । टोलीले कोरिया पुग्नासाथ दिइने तीनदिने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

सन् २००८ देखि इपिएसमार्फत् कोरिया जान थालेपछि ८१ जना नेपालीको ज्यान गएको छ । त्यसमध्ये सबैभन्दा धेरै आत्महत्या र सुतेकै ठाउँमा ज्यान गुमाउने रहेका छन् । सन २०१७ मा मात्रै १७ जना नेपालीले कोरियामा ज्यान गुमाएका थिए । इपिएसमार्फत् झण्डै ५१ हजार नेपाली रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् ।

भाषाको स्तर सुधार्नु पर्ने

टोलीले नेपालमा सिकाइने कोरियन भाषाका कक्षा प्रभावकारी नभएको निश्कर्ष पनि निकालेको छ । जथाभावी खुलेका संस्थाले परीक्षालाई मात्रै केन्द्रित गरेर कोरियन भाषा पढाउनाले प्रभावकारी नदेखिएको कोरियन कम्पनीले गुनासो गरेका छन् ।

कोरियन कम्पनीका अधिकारीहरुले नेपाली टोलीलाई भाषा नै आत्महत्यामा पुग्ने कारण भएको हुन सक्ने समेत बताएका छन् ।

नेपालबाट गएका धेरै नेपालीले कोरियन भाषामा कुरा गर्न नजानेको कम्पनीले गुनासो गरेको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।

कोरियन भाषा कक्षा सञ्चालन गर्न भन्दै जथाभावी संस्था खुलेका छन् ।नेपालमा कोरियन भाषा सिकाउने संस्थाको समेत अभिलेख छैन ।

नेपालीले काम गर्ने उद्योग तथा कृषि फार्ममा पनि टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा नेपालीले बढी काम गर्नुपरेको र साहुले दिने दबाबका कारण रक्सी खाने अनि सुतेकै अवस्थामा ज्यान गुमाउने गरेको पाइएको छ । कम्पनी साहुले भने नेपाली कामदारले भाषा नजानेका कारण उनीहरूलाई काम गर्न गाह्रो भएको बताएका थिए ।

Share Now

Leave a comment.