Prakash Adhikari February 10, 2018

काठमाडौं, २७ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि थप एक लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयको जानकारी र बजेट नआएको भन्दै साबिकको ३ लाख अनुदानभित्रै रहेर भूकम्पपीडितले असारभित्र घर बनाइसक्नुपर्ने जनाएको छ।

दोस्रो किस्ता लिन समय बढाइएको र प्राविधिक जनशक्ति लगायतका व्यवस्था गरिएकाले साढे चार लाख घर यसै आर्थिक वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको उसले जनाएको हो।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको प्राधिकरणको निर्देशक समितिको बैठक ७ महिनापछि शुक्रवार बसेर भूकम्पपीडितले दोस्रो किस्ता लिनुपर्ने समय पुस मसान्तबाट बढाएर चैत्र मसान्तसम्म पुर्याउने निर्णय गरेको छ।

अनुदान

तर तिनै प्रधानमन्त्रीको अध्यक्षतामा माघ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडित र बाढीपीडितलाई निजी आवास बनाउन थप १ लाख रुपैयाँ दिने भनेर गरेको निर्णयको जानकारी आफूले हालसम्म नपाएको प्राधिकरणले जनाएको छ।

जसका कारण यो वर्ष साबिककै ३ लाख मात्रै अनुदान उपलब्ध गराइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले बताए।

३ लाख घर निर्माण भइरहेका अवस्थामा छन्। प्राविधिक सहयोग पाए लगत्तै निर्माणले गति लिने छ र लक्ष्य पूरा हुने छ।
युवराज भुषाल, प्रमुख कार्यकारी अधिकारी, पुनर्निर्माण प्राधिकरण

उनले भने, ‘एक लाख रुपैयाँ दिने भन्ने सरकारको निर्णय हामीले सञ्चारमाध्यमबाट सुनेका हौँ, त्यो १ लाख रुपैयाँ अहिले बजेटमा व्यवस्था नभएकाले बजेटको व्यवस्था भएको ३ लाख मात्रै दिनसक्ने अवस्थामा छौँ।’

लक्ष्य

लगातारका निर्वाचन अनि प्राविधिक जनशक्तिको अभाव जस्ता कारणले दोस्रो किस्ता लिने समय थपिएको बताउने प्राधिकरणले असार मसान्तभित्र घर बनाइसक्नुपर्ने समयसीमा भने परिवर्तन नभएको जनाएको छ।

हालसम्मको निजी आवास निर्माणको गति र थपिएको समयले साढे चार लाख घर निर्माण लक्ष्य पूरा हुने प्रमुख कार्यकारी अधिकृत भुषालले दावी गरे।

उनले भने ूयो माघ मसान्तभित्र एक लाख घर बनिसक्नेछन्। ३ लाख घर निर्माण भइरहेका अवस्थामा छन्। प्राविधिक सहयोग पाए लगत्तै निर्माणले गति लिने छ र लक्ष्य पूरा हुनेछ।ू

सरकारी अनुदानमा आवास निर्माण गरिरहेका पीडितहरूले भने पछिल्ला दिनमा निर्माण सामाग्रीको मूल्य बढेकाले सरकारले दिने ३ लाख रूपैयाँमै घर बनाउन कठिनाइ उत्पन्न भएको बताउने गरेका छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.