बलाँच(दार्चुला),२७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको शनिवार एक भव्य कार्यक्रमका बीच उद्घाटन भएको छ ।
आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिटबाट उत्पादित विद्युत राष्टिय प्रशारण लाईनमा जोडिइसकेको छ । पहिलो यूनिटको उत्पादन पुस २८ गते राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने दोस्रो युनिटको उत्पादन माघ १७ बाट भएको थियो ।
आयोजनाको निर्माण कार्य सन् २००७ सालदेखि आरम्भ भएको हो । तर नेपाल विद्युत प्राधिकरणका सबै विभागीय प्रमुख, मन्त्री र सो भन्दा माथिका पदाधिकारीले समेत चुस्दाचुस्दा आयोजना लागत बढेर विचमा छोडेर ठेकेदार भाग्नुपर्ने अवस्था पनि सिर्जना भएको थियो ।
ठेक्का स्वीकृत भैसकेपछि प्राधिकरणद्धारा गरिएको पावरहाउसको एलाइनमेन्ट परिवर्तन, बाढी पहिरोले नदीको कफर ड्याम र डाइभर्सन वायरमा पुर्याएको क्षति र कमजोर भौगर्भिक क्षेत्रमा सुरुड. निर्माण गर्नुपर्दा माटो खसेर सुरड. साघुरिएको र
सोको उपचारकालागि पहिले डिटेल इञ्जिनियरिड.मा अनुमान नगरिएको स्टील, सिमेण्ट र फलामका टुक्राहरुसहितको विशेष कंक्रिट हाल्नु पर्ने भएकोले यसको सिभिल तर्फको लागत बढ्न गएको थियो ।
८ सय ४३ मिटर लामो सुरुङ खन्दा ६ सय ११ मिटर सुरुङ खनेपछि स्क्वीजिड.को समस्या आएको थियो । सो समस्याको निदान र उपचारका लागि चिनिया ठेकेदारले त्यस्तो प्रविधि चीनमा भएकोले उपयुक्त प्रक्रियाबाट ल्याउन प्राधिकरणको परामर्शदाता विद्युत विकास विभागलाई सुझाव दिएको थियो । तर प्राधिकरणका तात्कालिन प्रमुखले यही निहुमा भक्कु कमाउने सपना देखेर यूरोपेली परामर्शदाता खोज्दै हिंदे । अन्त्यमा केही सीप नलागेपछि ठेकेदारलाई नै यसको परीक्षण गरी उपचार गर्न अनुमति दिए । यो उपक्रममा ठेकेदार कामै नगरीकन करिब १९ महिना थन्किन बाध्य भएको थियो ।
आयोजना निर्माणको करार गर्दा डिपिआरमा समेत पूर्वानुभान नगरिएको आइटम थप्न परेकोले सोको प्रचलित मूल्य राख्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष परामर्शदाताले दिए पछि संसदको सार्बजनिक लेखा समितिले छानवीनको नाममा फेरी भुक्तानी रोकिदियो । आयोजना निर्माणस्थल पुगेर जटिल परिस्थितिमा पनि गुणस्तरीय काम गरेको भन्ने संसदीय टोलीको मन काठमाडौं आएपछि बटारियो र आयोजनालाई चाडो सक्ने ढंगले तयार पारिएको प्रतिवेदनको मस्यौदा फालेर अनौठो निर्णय गरियो -‘भेरिएसन स्वीकृत गर्ने पदाधिकारीलाई कारवाही गर्नु, गरेको कामको भुक्तानी नदिनु तर काम सुचारु गर्नू ‘ भन्ने । थप काम गर्न प्राधिकरणको स्वीकृति पनि पाउने अवस्था नभएको र गरेको कामको भुक्तानी पनि नपाएकोले आयोजनाको काम लामो समय प्रभावित भयो ।
जनार्दन शर्मा सार्वजनिक लेखा समितिको सभापति छोडेर ऊर्जामन्त्री बन्न आएपछि भने उनको दृष्टिकोण बदलियो र विभागीय मन्त्री भएकोले आयोजनाको काम सुचारु गर्न गरेको कामको आंशिक भुक्तानी दिने शर्तमा काम सुचारु भएको हो ।
सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट फेरि सुरु भयो ।
आयोजनाका परामर्शदाता र निर्माण ठेकेदार कम्पनीका अनुसार आयोजनाको थुप्रै कामको भुक्तानी लिन अझै बाँकी छ ।
शनिवारको उद्घाटन समाहोहमा ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न हुँदासम्म करिब १५ अर्ब लागेको आयोजना प्रमुख अजय दहालले बताए।
चमेलियाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ। आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन्।
नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङले चमेलिया जलविद्युत आयोजनाले उत्पादन थालेसँगै ग्राहकलाई गुणस्तरीय विद्युत उपलब्ध गराउन सहज हुने बताए ।
उनले विद्युतको प्रणाली सञ्चालनका लागि समेत यसले मद्दत पुर्याउने बताएका छन् । यस आयोजनाको निर्माणले यस विद्युतको प्रशारणलाईन र सडक क्षेत्रमा बनेका पूर्वाधारले अन्य आयोजनाहको विकासका लागि बरदान भएको बताए ।




















