कीर्तिपुर(काठमाडौं), ११ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि आयोजक राष्ट्र नेपालले जितेको छ ।
कीर्तिपुुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट खेल मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनको विशाल अन्तरले पराजित गरेको हो ।
खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले दिएको २ सय ३९ रनको लक्ष्य नेदरल्याण्ड्सले हासिल गर्न सकेन । उसले निर्धारित २०ओभरको खेलमा १८ औं ओभरको दोस्रो बल बलिड. गर्दा सबै विकेट गुमाउन पुगेको थियो ।
नेदरल्याण्ड्सका लागि सेवास्टियन ब्राटले २६, म्याक्स ओ दाउदले २०, पी. एम. सिलरले १३ रनको योगदान दिए भने अरु कसैले दोहोरो रन बनाउन सकेनन् । बीएन कुपरले फिलिप बेसोभेनले ७।७ रन जोडे भने पौल भान माकरिन र स्कर्ट एडवार्डले ५।५ रन जोडे त्यस्तै भिभियन किंगमाले ४,तोवियस भिसले २ र वास डे लिडले १ रन बनाए ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपालका करन के.सी.ले ३,सन्दीप लामिछाने र कमलसिंह ऐरीले २ । २ र अबिनास बोहोराले १ विकेट लिएका थिए ।
यस पहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर २ सय ३८ रन जोडेको थियो ।

खेलमा नेपालका लागि कुशल भूर्तेलले ७७, कुशल मल्लले ५०, दीपेन्द्रसिंह ऐरीले ४८,ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रन जोडेका थिए ।
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका फिलिप बोसेभेनले २ र सेबेस्टिन ब्राटले १ विकेट लिएका थिए ।
नेपालले जारी सिरिजमा चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलको यात्रा तय गरेको हो ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्याण्ड्ससंग तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो ।
यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो ।
पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको थियो तर दोस्रो खेलमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो ।
नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेका हुन् ।
यो त्रिदेशीय सेरिजमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा रहे र विश्व कीर्तिमान नै कायम गरे । उनले पहिला तीन खेलमा लगातार अर्धशतक प्रहार गरे ।चौथो खेलमा अर्थशतक प्रहारमा चुकेका भूर्तेलले आज पनि ७७ रन जोडेर नेपाली ब्याट्सम्यानको मनोबल उच्च राखेका छन् ।
नेदरल्याण्ड्ससंगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए । फाइनलमा पनि उनले ७७ रन जोडे ।


















