Prakash Adhikari April 30, 2021

प्रकाश अधिकारी

काठमाडौं, १७ बैशाख । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरले गाँजेर विभिन्न राज्यका शहरहरुमा लकडाउन घोषणा भएसंगै त्यहाँ कार्यरत नेपालीहरु घर फर्किन थालेका छन् । हवाई र स्थलमार्गको प्रयोग गर्दै कोरोनाको हटस्पट बनेको भारतबाट स्वेदेश भित्रिएका नेपाली नागरिकहरु कोरोनाको भाइरसको संवाहकका रुपमा देखा परेको कुरा कुम्भमेलामा सहभागी भएर फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्रमा देखा परेको संक्रमणले पुष्टि गरेको छ ।

अहिले नेपाल भारत सीमाका मुख्य नाकाहरुबाट स्वदेश फर्किने नेपालीहरुको लर्को लागेको छ सुदूरपश्चिमको महेन्द्रनगरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, वर्दियाको मूर्तीया, नेपालगञ्जको जमुनिया, कपिलवस्तुको कृष्णनगर,रुपन्देहीको सुनौली, नवलपरासीको बेल्डिया, बीरगञ्जको रक्सौल, रौटहटको गौर नाकाबाट गतबर्षको जस्तै भारतमा कार्यरत नेपाली श्रमिकहरु फर्किरहेका छन् ।

नेपालीहरु अधिक संख्यामा पुग्ने भारतको दिल्ली, मुम्बई, गुजरात लगायतका राज्यमा कोरोना भाइरसको प्रकोप ब्यापक रुपमा बढेकोले त्यहाँ कार्यरत नेपालीहरु अघिल्लो बर्ष पाएको दुःख सम्झदै यो बर्ष स्वदेश फर्किएका हुन् । संकटको बेलामा सुरक्षित रुपमा आफ्नो देश आइपुग्नु पनि अहो भाग्य हो । तर स्वदेश फर्किएका नेपाली नागरिकको स्वास्थ्य परीक्षण, उपचार र व्यवस्थापनमा सरकारले देखाएको उदासिनता भने लज्जास्पद छ ।

अहिले भारत विश्वमा दैनिक कोरोना संक्रमण र मृत्युमा सबैभन्दा माथि पुगेको छ । त्यहाँका अस्पतालहरुमा भएको अक्सिजनको कमी, विरामी भर्ना गरेर राख्ने सैय्याको कमी, औषधोपचारको कमीका कारण हुनगएको कोरोना संक्रमितको मृत्यु र तिनको अन्तिम संस्कार गर्ने स्थानको अभाव विगत एक हप्तादेखि विश्वका संचारमाध्यममा मुख्य खबर बनिरहेका छन् । अझै त्यहाँको अवस्थामा सुधार आएको छैन् । स्वास्थ्य पूर्वाधारहरु कमजोर रहेको र व्यवस्थापकीय क्षमता पनि कमजोर भएकोले भारतमा फैलदै गएको कोरानाको असरबाट त्यहाँ कार्यरत नेपालीहरु मुक्त छन भनेर ढुक्क हुने अवस्था छैन् ।

कोरोना संक्रमण गाँउगाउँमा पुग्ने खतरा

हिजो आज भारतीय सीमा नाकाबाट भारतको विभिन्न शहरमा कामको लागि गएका नेपालीहरु हजारौंको संख्यामा फर्किरहेका छन् । तिनीहरुको व्यवस्थापन न सीमा स्वास्थ्य चौकीले गरेको छ न सीमा नाका भएका स्थानीय तहहरुले गरेका छन् । विदेशबाट आएका नागरिकहरुलाई नेपाल भित्रिएपछि दर्ता गर्ने, पी.सी.आर परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, कोरोना पोजेटिभ देखिएकालाई अस्पताल पठाउने र नदेखिएकालाई उनीहरुको स्थायी बसोबासस्थल जानदिने गतबर्षको जत्तिको व्यवस्थापन पनि यसबर्ष हुन सकेको देखिदैन ।

सुदूरपश्चिमका महेन्द्रनगर र गौरीफन्टा नाकाबाट फर्केकाहरुलाई धमाधम आआफ्नो स्थायी बसोबास रहेको गाँउ र ठाँउमा जानदिइएका खबरहरु सार्वजनिक भैरहेका छन् । यो प्रवृत्तिबाट अन्य नाकाहरु पनि मुक्त छैनन् । यसैले यसपटक भारतबाट फर्केका नेपालीहरुले कोरोनाको संक्रमण सबै गाँउमा पुर्याउन सक्ने जोखिम बढेको छ ।

सरकारले निषेधाज्ञा र लकडाउन गर्ने अधिकार स्थानीय तहलाई छोडेको र जिल्ला प्रशासनले तराईमा ५०० जना संक्रमति र पहाडमा २०० जना संक्रमित भएको रेकर्ड कायम नभएसम्म निषेधाज्ञा र लकडाउन गराउने अवस्थामा नरहेकोले स्थानीय निकायहरुले पनि विगतको जस्तो क्वारेन्टाइन, आइसोलेसन कक्षहरु बनाउने, उचित सैय्या निर्माण गर्ने, तिनमा हात धुने र सुरक्षित शौचालयसहित सरसफाईको उचित प्रबन्ध गर्ने दुईहप्ताको वसाईपछि स्वास्थ्य परीक्षण गर कोरोना लक्षण मुक्त देखिएमा वा पीसीआर नेगेटिभ देखिएमा मात्र घरपरिवारमा मिसिन दिने व्यवस्था यसपटक गर्न चुकेका छन् ।

गतबर्ष अपनाइएको सावधानीका कारण धेरै नेपालीलाई कोरोना केही पनि रहेनछ अनावश्यक रुपमा लकडाउन र निषेधाज्ञा जारी गरेर सरकारले अर्धेलो गरेको जस्तो भान परेको छ तर त्यसले नै धेरै नेपालीको जीवन जोगाएको यथार्थलाई उपेक्षा गरिएको छ । गतबर्ष देखा परेको कोरोना भाइरस भन्दा यस पटक देखापरेको कोरोनाको उत्परिवर्तित नयाँ प्रजाति झनै घातक भएको र यसले युवादेखि किशोर किशोरी र बालबालिकालाई समेत प्रभावित गरिरहेको घटनाका कारण अहिलेको कोरोनासग सबै सतर्क रहन जरुरी भैसकेको छ ।

हेल्प डेक्समा उपकरण र स्वास्थ्यकर्मी थप्नुपर्ने

कैलालीबाट प्राप्त समाचारमा जनाइए अनुसार त्यहाँको गौरीफन्टा नाकाबाट प्रवेश गर्ने नेपालीहरुमध्ये एण्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा १० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । हेल्थ डेस्कमा खटिनुभएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्वास्थ्य सहायक गणेश साउदका अनुसार जनशक्ति र किट अभावका कारण भारतबाट फर्किने सबैको परीक्षण भएको छैन तर करिब ५ हजारको परीक्षण गर्दा भने ५ सयमा संक्रमण देखिएको छ । सो नाकामा अहिले १५ जना स्वास्थ्य सेवाका कर्मचारी खटिएका छन । भोक प्यास नभनेर दुई सिफ्टमा काम गर्दा समेत पर्याप्त किट नभएका कारण सबैको परीक्षण सम्भव भएन, भइरहेको छैन ।

हेल्थ डेक्सले कोरोना पोजेटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाइएको छ । उनीहरूलाई उप–महानगरपालिकाकै एम्बुलेन्समार्फत आइसोलेसनमा पठाइए न त सबै त्यहाँ पुगेका छन् न पुगेका जतिलाई त्यहाँ भर्ना गरेर राखिएको छ । सीमित क्षमता, पूर्वाधार र सुविधाका कारण ७२ जनालाई मात्र राखेर बाँकीलाई घर जाऊ भन्दै पठाइएको छ ।

धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी उपाध्यायका अनुसार स्वास्थ्य कार्यालय, कैलालीले व्यवस्थापन गरिरहेको उक्त आइसोलेसनमा सबैलाई राख्ने सुविधा नभएकोले पूर्वाधारले साथदिने सम्मका संक्रमितलाई राखेर अरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर होम आइसोलेसनमै बस्ने गरी पठाइएको हो ।

सुरक्षाकर्मी पनि अभाव

कैलालीको गौरीफन्टा नाकाको नजरबाट हेर्दा स्वदेश फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण गरेर सुरक्षित रुपमा घर पठाउने बन्दोवस्त गर्ने सुरक्षाकर्मीहरुको पनि नाकाहरुमा अभाव देखिएको छ । गौरीफन्टा नाकामा भारतीय एसएसबीको क्याम्प नजिकै नेपालतर्फ सशस्त्र प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्षमा विवरण टिपाउँदै भित्रिरहेकाहरूलाई स्वास्थ्य परीक्षणका लागि नेपाल प्रहरीले हेल्थ डेस्कतर्फ पठाउने काम गर्छ ।तर हेल्थ डेस्कतिर पठाइएकाहरू स्वास्थ्य परीक्षण गर्न छोडेर रिक्सा, अटो रिक्सा र बस चढ्दै घर पुग्ने गाडी समाउन हिडिरहेका भेटिन्छन् ।

डोकेबजार चौकीका प्रहरी अधिकारीहरुका अनुसार पर्याप्त जनशक्ति नहुँदा समस्या भएको हो । प्रहरी सहायक निरीक्षक ९सई० सहित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई भीड व्यवस्थापन गर्न मुस्किल परिरहेको छ । सशस्त्र प्रहरीसँगको समन्वयमा भारतबाट फर्किनेहरूको व्यवस्थापन गर्ने काम भइरहे पनि सुव्यवस्थित गर्नलाई भने जनशक्ति थप्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभएको छ ।

आइसोलेसन र क्वारेन्टाइनको उपेक्षा

गतबर्षको सही अनुभवका आधारमा यसबर्ष क्वारेन्टाइन र आइसोलेशन वार्डहरुको स्थापना,सञ्चालन र व्यवस्थापन झन राम्रो हुनुपर्ने हो तर भारतमा कोरोनाको दोस्रो लहर ब्यापक रुपमा फैलिएको झण्डै महिना दिन हुन लाग्दा पनि भारतसंग सीमा जोडिएका नेपालका जिल्लाहरु र मुख्य नाका भएका जिल्ला तथा अन्य जिल्लाका स्थानीय तहहरुले विगतमा जस्तो जाँगर देखाएका छैनन् ।

सुदूर पश्चिममा कैलालीको धनगढी उपमहानगरपालिकाले १ सय १८ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाले १०० जना अटाउने क्षमताको आइसोलेसन निर्माण गरेका छन् । यसबाहेक प्रदेशभर कुनै पनि स्थानीय तहले आइसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गरेका छैनन् । क्वारेन्टिन अभावमा भारतबाट फर्किनेहरू विना परीक्षण सोझै घर पुग्न थालेपछि संक्रमण गाउँ–गाउँसम्म फैलिने जोखिम बढेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले भारतबाट फर्किनेहरूलाई अहिले होम क्वारेन्टाइनमै बस्ने गरी सोझै घर पठाइरहेको बताउनुभयो । ‘उनीहरू सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न सकिएको छैन,’ भटट्ले भन्नुभयो, ‘अहिले वडाहरूमै क्वारेन्टिन व्यवस्थापनका लागि पत्राचार गरिएको छ ।’

सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय तह र स्थानीय प्रशासनले पनि आइसोलेसन र क्वारेन्टाइन स्थापना र सञ्चालनमा खासै ध्यान दिएका छैनन्। डोटी, बझाङ, अछाम, बाजुरालगायत पहाडी जिल्लामा पनि आइसोलेसन र क्वारेन्टिन अभावमा संक्रमितहरूलाई होम आइसोलेसनमै पठाउन थालिएको छ ।

तुलनात्मक रुपमा सुगम मानिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले स्थानीय तहलाई आइसोलेसन र क्वारेन्टिन स्थापना गर्न पत्राचार गरिएको तर कुनैले पनि हामीले स्थापना गरेका छौं भनेर जानकारी नआएको बताउनुभएको छ।

धनगढी र महेन्दनगरमा नेपालगञ्जकै हालत

कोरोना संक्रमणका बिरामीहरुलाई सैय्या र अक्सिजन नपाएर जीवन जोगाउन कठिन भएको नेपालगञ्जको स्थिति धनगढी र महेन्दनगरमा पनि पुनरावृत्ति हुन थालेको छ । त्यहाँबाट प्राप्त खबरहरुमा अस्पतालका इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ भएको सैय्या नपाएर ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको उल्लेख छ । अस्पतालमा विरामीको लागि उपचार कक्ष सिर्जना गर्न अक्सिजनका अक्सिजनका सिलिण्डरहरुलाई झ्याल बाहिर राखिएको छ।कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेका छन् । संक्रमण पुष्टि भएका र सम्भावित संक्रमितलाई अस्पतालको इमर्जेन्सी वार्डमै राखेर उपचार गर्नुपर्ने अवस्था आइलागेको छ ।

गत वर्ष सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्थापना गरिएको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको छ । अस्पतालमा रहेका ५५ शय्यामा अहिले ६० जना उपचाररत छन् । इमर्जेन्सी वार्डमा रहेका १६ शय्या पनि भरिएपछि बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसिरहेको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डका इन्चार्ज सिनियर अहेव भरत खातीका अनुसार अवस्था भयावह बनिसकेको छ ।श्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ।

अक्सिजन अभावको त्रास

आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६ सय ७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिण्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिण्डरको आवश्यकता पर्छ ।

कञ्चनपुरको महाकाली अस्पताललाई पनि अक्सिजन व्यवस्थापनमा समस्या हुन थालेको छ । धनगढी र नेपालगञ्जबाट आपूर्ति गर्दै आएको अस्पताललाई गम्भीर संक्रमित बढ्दा अक्सिजनको माग थेग्न मुश्किल भएको हो । अक्सिजन अभावका कारण संक्रमितको उपचारमा समस्या हुन थालेको जनाएको छ ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले विगतमा दैनिक ४० सिलिण्डर खरीद गर्ने गरेकोमा माग वृद्धि भएका बेला १५ वटासम्म पाउन मुश्किल हुन थालेकोले अक्सिजनको चरम अभाव सिर्जना भएको बताउनुभएको छ ।

६० जना संक्रमित भर्ना भएको महाकाली अस्पतालमा सबैलाई अक्सिजन दिनुपर्ने भएकाले माग बढेको छ । संक्रमित थपिंदै गए समस्या बढ्न सक्ने देखिन्छ।

अहिले मध्यपश्चिमको नेपालगञ्ज, सुदूरपश्चिमको धनगढी र कञ्चनपुरले भोगेको समस्या स्थानीय सरकार र प्रशासन सचेत नभए भारतसंग सीमा जोडिएका सबै जिल्लाका मुख्य शहरहरुमा पुनरावृत्ति हुने र संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिड. नगरेमा संक्रमण देशभर डँढेलोसरी फैलने त्रास बढ्दै गएको छ ।

 

Share Now

Leave a comment.