Prakash Adhikari February 11, 2018

 

भरतपुर(चितवन), २८ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता छिट्टै टुंग्याउन एमाले नेताहरुलाई दबावमूलक अभिव्यक्ति दिएका छन् ।

नेपाली राजनीतिमा राष्ट्र र जनताको आवश्यकता अनुसार आफूले जस्तोसुकै निर्णय लिन पनि सक्ने शनिवारको आफ्नो भनाई उल्लेख गर्दै उनले भने,’पार्टी एकताप्रकृया नलम्बियोस् ।’

आइतबार चितवनको भरतपुरमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेरो चाहना छ, दुई तीन दिनभित्र एकता टुंगियोस्, यो कुरा नलम्बियोस्।’

उनले पार्टी एकता दोधारमा परेको पनि बताए । ‘पार्टी एकीकरण लम्बिएला जस्तो भन्दा पनि टुंगिएला जस्तो मैले देखेको छु’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्न सक्ने बताएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा विभिन्न अड्कलबाजी चलिरहेको बेला माओवादी अध्यक्ष प्रचण्डबाट केही समययता पृथक ढंगको अभिव्यक्तिहरु आएका छन् । यो एमाले नेतृत्वमाथि दवाव पनि हुन सक्छ र साच्चै एकता प्रकृयाबाट अलग्गिएर स्वतन्त्र अस्तित्वमा रहेर बैकल्पिक सरकारको तयारी पनि हुन सक्छ ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरा प्रकाशको स्मृतिमा आयोजित खेलकुद प्रतियोगिता अन्तर्गतको चौथो मुवाँ थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेका हुन्।

Share Now

Leave a comment.