काठमाडौं, २ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४छ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप ७ हजार ३ सय ६८ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पीसीआर र एन्टिजन विधि गरी जम्मा १९ हजार ८ सय ८३ जनाको स्वाव परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
विगत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा २ हजार ६ सय ९ सङ्क्रमित थपिएका हुन्।
हाल देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रिय संक्रमित मध्ये होम आइसोलेशनमा १ लाख २ हजार ४ सय ५५ र संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ८ जना रहेका छन्।
गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभर आईसीयूमा १ हजार ३ सय १३ जना र भेन्टिलेटरमा ३ सय ८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
बागमती र कर्णाली प्रदेशको अवस्था
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई शय्या पाउन निकै कठिन हुने गरेको बिरामीका आफन्तहरूले बताएका छन्।
बिरामीलाई एम्बुलेन्समा राखेर ४ घण्टासम्म अस्पतालहरू घुमाउँदा बल्ल बल्ल शय्या पाएको सैनिककुमार महतोले बताउनुभयो।

बिरामी
महतो भन्नुहुन्छ, “बिरामीलाई शय्या पाउन पनि सोर्सफोर्स चाहिँदो रहेछ नत्र मुस्किल छ।”
अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका बिरामीले भरिएपछि अस्पतालमा बिरामीलाई शय्या र अक्सिजनको अभाव हुँदै गएको भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले बीबीसी संवाददाता ईश्वर जोशीलाई बताउनुभएको छ।
नेपालको सात प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको छ।
जटिल खालका बिरामी धेरै
अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ।
चितवनमा विभिन्न जिल्लाबाट कोभिडका बिरामीहरू आउने गरेका छन्। दैनिक बिरामीहरू थपिने क्रम छ।
त्यसैले शय्या र अक्सिजनको अभाव हुन थालेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो।
बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टर सागर काफ्ले बताउनुभयो।
उता कर्णाली प्रदेशमा पहिला जुम्लाका मानिस नेपालगञ्ज तथा सुर्खेत पठाउने गरिएको भए पनि अहिले सुगमका बिरामी जुम्लामा आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
हुम्ला, कालिकोट, मुगु, डोल्पा जिल्लामा अक्सिजन तथा विशेषज्ञ डाक्टर नहुँदा त्यहाँका बिरामीहरू जुम्लामा आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डाइरेक्टर सविना थापाले बीबीसी संवाददाता कृष्णमाया उपाध्यायलाई जानकारी दिनुभयो।
“अहिले सुर्खेतमा पनि अक्सिजन र अस्पतालमा शय्या अभाव भएका कारण त्यहाँका बिरामीहरू पनि जुम्ला आउने क्रम बढिरहेको छ।”, नर्सिड. डाइरेक्टर थापाले भन्नुभयो ।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना कोभिडका बिरामी भर्ना गरेर उपचार भइरहेको मध्ये १८ जना जुम्लाका र बाँकी अन्य जिल्लाका बिरामीहरू रहेका छन्।
कर्णालीमा रहेका १ सय ५३ आईसीयू शय्यामध्ये ९६ बेडमा बिरामी रहेको र ३५ वटा भेन्टिलेटरमध्ये ८ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ।
विकटका बिरामीलाई उद्धारको समस्या
पछिल्लो तिन हप्तामा कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
भौगोलिक विकटता रहेको कर्णाली प्रदेशमा गम्भीर खालका कोभिडका बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान समस्या भइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले बताउनुभयो।
जहाजमार्फत बिरामीको उद्धार गर्नु पर्ने भए पनि सबै निकायसँग पहल गर्दा पनि कतैबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो।
यसको साथै कर्णालीमा रहेका कर्णाली स्वास्थ्य विज्ञान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुम बाहेकका जिल्लामा रहेको अस्पतालमा जनशक्ति तथा मेसिन अभावका कारण कोभिडका बिरामीहरूलाई समस्या भइरहेको उहाँले बताउनुभयो।
बिरामीको चिन्ता
पाँच दिनसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएर अहिले होम आइसोलेसनमा रहेकी जुम्लाकी शारदा रोकायाले जतिबेला पनि अक्सिजन आवश्यक पर्छ तर भनेको समयमा अक्सिजन पाइँदैन त्यसैले गर्दा मर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको बताएउनुभएको छ।
समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण दर तीव्र गतिमा अगाडि बढिरहेको हुन सक्ने भएकाले स्थानीय तहले तत्काल यस विषयमा अनुगमन गर्न आवश्यक रहेको हुम्ला जिल्लाका जनस्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो।(बीबीसीबाट)


















