Prakash Adhikari May 16, 2021

बीरेन्द्रनगर(सुर्खेत), २ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।

यसैबीच प्रदेश प्रमुख कलौनीसँग आज भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे तथा प्रदेश अस्पतालमा ’डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा सरकार लागिसकेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कलौनीले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिनुभयो ।

उहाँहरुबीच प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो ।

Share Now

Leave a comment.