Prakash Adhikari June 10, 2021

 

पोखरा(कास्की), २७ जेठ । सर्वोच्च अदालतले सरकारले राष्ट्रपतिमार्फत जारी गराएको नागरिकता विधेयक कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेर प्रधानमन्त्री ओलीलाई दनक दिएकै दिन उहाँको छायासरी रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुड. प्रदेशसभामा विश्वासको मत पाउन असमर्थ हुनुभएको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्रस्ताव पेश गर्दा प्रदेश सभामा भएको मतविभाजनमा सरकारलाई विश्वासको मत दिने पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाउनुभएको थियो ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहनुभएको थियो ।
नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले विश्वासका मतको विपक्षमा मतदान गर्नुभएको थियो ।

मुख्यमन्त्री पदमुक्त नयाँ सरकार गठनको प्रक्रिया

आज प्रदेश सभामा उहाँले प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले बहुमत पुर्याउन नसकेपछि उहाँ आजैबाट पदमुक्त हुुनुभएको छ ।

अब आजै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८.(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुहुने बताइएको छ ।

प्रदेश सभामा आफूविरुद्ध आएको अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा अगाडि गत बैशाख २७ गते ्र पदबाट राजिनामा दिनुभएका मुख्यमन्त्री गुरुड. संविधानको धारा १६८(३) अन्तरगत प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त हुनुभएको थियो ।

धारा १६८ को उपधारा ५ मा उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नुहुनेछ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गर्नुभएको छ । उहाँले कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विपक्षीतिर जानबाट रोक्न युवा तथा खेदकुदमन्त्रीको जिम्मेवारी सुम्पनुभएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अन्तिम समयमा एमालेको साथ छोडेर विपक्षी गठबन्धनलाई साथ दिने संकेत दिनुभएको छ ।उहाँसग भएको वार्ता सफल भएकोले उहाँ आज आफ्नै सरकारले राखेको विश्वासको मतदानमा अनुपस्थित रहनुभएको थियो ।

राजीव गुरुड.ले आफ्नो अडान यथावत राखेमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।

धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्नुपर्ने हुन्छ । मध्यावधि निर्वाचन रोक्नका लागि नै स्वतन्त्र सांसद राजीव गुरुड. विपक्षी गठबन्धनको साथमा आउनुभएको बताइन्छ ।

 

Share Now

Leave a comment.