प्रिटोरिया(दक्षिण अफ्रिका), १० आषाढ(बीबीसी) । दक्षिण अफ्रिकाकी गोसियामे थमारा सिथोले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।
खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो।
स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको देखाएको थियो।
ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उहाँलाई सहयोग उपलब्ध गराइने भनिएको छ।
विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन।
प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो।
आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो।
उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो।
प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।
पछिल्लो विज्ञप्तिमा भनिएको छ, “यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।”
प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानूनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ।
समाचार कसरी आयो ?
सिथोले आफ्ना जोडी टेबोहो सोतेत्सी र ६ वर्षमा जुम्ल्याहाहरूसँगै जोहानेसवर्ग नजिकै पर्ने खाउटेङ् प्रान्तको थेम्बिसामा बस्दै आउनुभएको छ।
आइओएल अनलाइनका अनुसार रामपेडी जाने गिर्जाघरमा उहाँहरू पनि प्रार्थनाका लागि जाने गर्नुहुन्छ र डिसेम्बरमा उहाँहरूको चिनजान भएको थियो।
मे महिनामा रामपेडीले उक्त जोडीको अन्तरवार्ता लिएको र त्यसमा सिथोेलेद्धारा आठ जना बच्चा अपेक्षा गरिएको बताएको दाबी गरिएको छ।
एउटा फोटोमा सिथोलेको गर्भ एकदमै ठूलो देखिन्छ।
प्रिटोरिया न्यूजले जुन ८ मा १० जना बच्चाको आश्चर्यजनक जन्मबारेको खबर प्रकाशन गरेको थियो जसमा सोतेत्सीलाई श्रोत उल्लेख गरिएको थियो।
पछि सोतेत्सीले सिथोलेबाट त्यस्तो सन्देश पाएको बताउनुभएको थियो।
उहाँले कोरोनाभाइरसको निषेधाज्ञाका कारण आफूलाई अस्पताल जान नदिइएको उल्लेख गर्नुभएको थियो।
रामपेडीले ह्वाट्सएप सन्देशलाई आधार मान्नुभयो र अस्पतालबाट स्वतन्त्र पुष्टि गराउनुभएन।
स्थानीय मेयरले पछि त्यसरी बच्चाहरू जन्मिएको पुष्टि गरेपछि बीबीसी सहित अरू सञ्चारमाध्यमले यसबारेका खबर प्रकाशित गरेका थिए।
तर सरकारी प्रवक्ताले पछि स्थानीय नेताले परिवारको कुरा मात्रै सुनेको र कसैले पनि बच्चा नदेखेको बताउनुभएको थियो।
त्यसपछि उक्त जोडी र बच्चाहरूका लागि चन्दा र सहयोगको लहर देखा परेको थियो।
तर प्रिटोरिया न्यूजले प्रारम्भिक रूपमा कुन अस्पतालमा ती बच्चाहरूको जन्म भयो भन्ने पुष्टि गर्न नसकेपछि आशङ्काहरू उत्पन्न भएका थिए।
र खाउटेङ्स्थित कैयौँ अस्पतालहरूले त्यस्तो घटना नभएको बताएका थिए।
त्यसपछि सोतेत्सीले सिथोले बेपत्ता भएको उल्लेख गर्दै सहयोग रोक्न आग्रह गरेका विवरण आएका थिए।
सिथोलेले चाहिँ बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप लगाएको प्रिटोरिया न्यूजले छापेको थियो।
पछि सामाजिक कार्यकर्ताहरूले सिथोलेलाई फेला पारेका थिए र उहाँलाई शुक्रवार जाँचका लागि अस्पताल भर्ना गरिएको छ।
न्यूज ट्वेन्टी फोरले देखेको भनिएको एउटा चुहिएको मेमोमा रामपेडीले आइओएलसँग उसको प्रतिष्ठामा आँच पुर्याएको भन्दै माफी मागेको जनाइएको छ।
उनले उक्त समाचारलाई ुराम्रो अनुभूति दिलाउनेु समाचार भन्दा खोज समाचारका रूपमा आफूले हेरेको भए हुने धारणा राखेका भनिएको छ।