Prakash Adhikari June 27, 2021

जोनाथन एमोस /बीबीसी विज्ञान संवाददाता

बेइजिड.(चीन), १३ आषाढ(बीबीसी) । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडिओ सार्वजनिक गरेको छ।

ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो।

जुरोङले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ।

छ पाङ्ग्रे उक्त रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ।

चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना न्याशनल स्पेस एजेन्सी (सीएनएसए)का अनुसार जोरुङले ४२ मङ्गल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ। सोल भनेको मङ्गलको एक दिन हो। मङ्गलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ।

रातो ग्रह पनि भनिने मङ्गललाई परिक्रमा गरिरहेको तियानवेन-१ स्याटलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो।

सीएनएस प्रेस विज्ञप्तिमा भनिएको छ “अर्बिटर र मङ्गलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ।”

जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी संस्थापनाको १०० वर्ष उत्सव पनि हो।

१४ मे मा अवतरण गरेपछि भिडिओ आउला भन्ने अपेक्षा राखिएको थियो।

रोभरको प्याराशुट प्रणालीका केही तस्बिरहरू गत हप्ता सार्वजनिक गरिएको थियो।

भिडिओमा भने मङ्गलको वायुमण्डलको चक्र जस्तो तह फिँजिएको देखिएको छ।

 

अवतरण गरेको स्थान नजिकै पाङ्ग्रा चलमलाउँदै गरेको जुरोङ रोबट

भिडिओमा जुरोङ र उसको अवतरण गर्ने प्ल्याटफर्म खसेको र तल हेर्ने क्यामेराले मङ्गलको भुईँ छोएको पनि देखिन्छ।

मङ्गलका सतहका तीन वटा भिडिओ छन्।

पहिलोचाहिँ जुरोङले वायरलेस क्यामेरा जमिनमा जडेपछि लिएको अनुमान गरिएको छ त्यसमा रोबोट पछाडि सर्दै गएको देखिन्छ।

दोस्रो भिडिओमा जुरोङले अवतरण गरेको ठाउँ नजिकै उसका पाङ्ग्राहरू चलाएको देखिन्छ।

सीएनएसएले यो दृश्यको तस्बिर पनि यस अघि सार्वजनिक गरेको थियो।

र तेस्रो भिडिओमा रोभर अवतरण गरेको स्थानबाट बाहिर निस्केर मङ्गलको सतहमा गएको देखिन्छ।

यो भिडिओको रमाइलो कुरा चाहिँ यसमा आवाज पनि सुनिएको छ। रोबोट चल्दा आउने आवाज पनि सुनिएको छ।

मङ्गलको वायुमण्डलको प्रकृतिका कारण त्यहाँको आवाज पृथ्वीको जस्तो सुनिँदैन। त्यो अलि सानो सुनिन्छ।

वैज्ञानिकहरूले जुरोङबाट कम्तीमा ९० मङ्गल दिनको सेवा प्राप्त हुने आशा गरेका छन्।

जुरोङ रोबट जमिनको सतहमा क्यामेरा जडेपछि पछाडि सर्दै

रोबट अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २००० मा पठाएका दुई वाहनहरू स्पिरिट र अपरच्युनिटी जस्तो देखिन्छ।

त्यसको तौल २४० किलो छ। एउटा अग्लो खम्बाले तस्बिर खिच्ने क्यामेरा र यताउता हेर्ने उपकरण बोकेको छ। पाँच वटा थप उपकरणले त्यहाँका चट्टानको प्रकृति, त्यहाँको वातावरण र मौसमको अनुसन्धान गर्नेछन्।

Map of Mars

अहिलेका अमेरिकी रोभरहरू क्युरिअसीटी र पर्सिभिअरन्स जस्तै जुरोङसँग लेजर टूल छ जसले चट्टान भित्र छिरेर त्यसको रासायनिक गुण पत्ता लगाउन कोसिस गर्छ।

पर्सिभिअरन्समा जस्तै सतहमा रहेको पानी बरफ पत्ता लगाउन सक्ने राडार पनि जुरोङमा जडिएको छ।

नासाले मङ्गल ग्रहमा आफ्ना रोभर अवतरण गरेपछि फेब्रुअरी १८ का दिन भिडिओ सार्वजनिक गरेको थियो

 

Share Now

Leave a comment.