Prakash Adhikari February 19, 2018

लण्डन(संयुक्त अधिराज्य),६ फागुन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषद्को बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ ।

झण्डै २ सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न सो बैठकमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्षहरु सुर्य गुरुंग, योगेन क्षेत्री र मुछेत्र गुरुंग, आइसिसी सदस्यहरु रामशरण सिंखडा, कुमारी गुरुंगसहित नवनियुक्त सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

त्यसअवसरमा अध्यक्ष फगामीले एक प्रिजेन्टेसन गर्दै सेप्टेम्बरमा निर्वाचित भएयता आफु नेतृत्वको कार्यसमितिले गरेका कामहरुबारे जानकारी गराएका थिए । कार्यक्रमको शुरुमा महासचिव आर के त्रिपाठीले कार्यक्रम रुपरेखाबारे बताए पछि उपाध्यक्ष पुनम गुरुंगले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको संयोजन तथा सञ्चालन प्रवक्ता रमेश सरांगकोटीले गरेका थिए ।

बैठकमा सल्लाहकारहरुबाट यस्ता सुझावहरु प्राप्त भएका थिए ।

१. गोरखाहरुको समान पेन्सनसम्बन्धी मुद्दालाई कुटनीतिक हिसाबले पहल गरी यथाशक्य छिटो समाधान गर्न मद्दत गर्ने ।

२. एनआरएन युकेको शाखा विस्तार काउन्टीलाई आधार बनाइ गर्नुपर्ने र युकेका सबै नेपालीलाई समेट्ने गरी संगठन बिस्तार गर्नपर्ने । सबै नेपाली संस्थाका अध्यक्षलाई पदेन सल्लाहकार चयन गरी उनीहरुलाई सदस्यता वृद्धि गर्ने ।

३. नेपाल हाउस प्रोजेक्ट हाम्रो सन्ततिको गौरवको योजना भएकाले यसलाई अगाडि बढाउनुपर्ने । नेपाल हाउस योजनालाई वेभसाइटमार्फत प्रभावकारी सूचना दिने र संचालनका स्थायी सचिवालय बनाउने ।

४. बेलायतका नेपाली समुदायमाझ र विशेषगरी वृद्धवृद्धाहरुमाझ स्वास्थ्यचेतना फैल्याउने । नेपाल तथा बेलायतमा स्वास्थ्य शिविरहरु संचालन कार्यक्रम गर्ने ।

५. एनआरएन युकेले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने ।

६. महिला तथा युवाहरुलाई एनआरएनए युकेमा आवद्ध हुन उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्नेे । संस्थामा महिला प्रतिनिधित्व बढाउनुपर्ने । युवाहरुलाई शिक्षा र रोजगारका लागि कार्यक्रम ल्याउनुपर्ने ।

७. एनआरएन युकेलाई विद्युतीकरण गर्नुपर्ने । सदस्यता सधैँ खुला हुनुपर्ने, र सदस्यता वितरण निर्वाचन हुनुभन्दा एक महिनाअघि बन्द गर्नुपर्ने ।

८. च्यारिटी कमिसनमा दर्ता भएका नेपाली संस्थाहरुलाई पदेन सदस्य कायम गर्ने ।

९. नेपाली नागरिकता बचाऔँ अभियानलाई सहयोग र ऐक्यवद्धता जनाउने ।

१०. युकेमा रहेका नेपालीले व्यक्तिगत र संस्थागतरुपमा नेपालमा शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रमा गरिरहेको सहयोगका बारेमा रेकर्ड राख्ने ।

Share Now

Leave a comment.