Prakash Adhikari July 3, 2021

काठमाडौं, १९ आषाढ। शुक्रबारदेखि लगातार परेको बर्षाले गण्डकी प्रदेशको गोरखामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने प्रदेश २ को राजधानी रहेको जनकपुर उपमहानगरपालिका पूरै जलमग्न भएको छ ।

गोरखाबाट प्राप्त समाचारमा जनाइए अनुसार सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव आज बिहान १० बजेतिर बाहिर निकालेका छन् ।

जनकपुर जलमग्न

यता अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।

ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ ।

Share Now

Leave a comment.