मायामी(संयुक्त राज्य अमेरिका), १९ आषाढ(बीबीसी) । संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्।
साइबर सुरक्षा कम्पनी ‘हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए।
त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्यानसमवेअर आक्रमण फैलिएको थियो।कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ।
उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भरहरू बन्द गर्न पनि भनेको छ।
कसले गरायो आक्रमण ?
रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह ‘रीभील’ले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ।
यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो।
स्वतन्त्रता दिवसको सप्ताहन्तमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रवार अपराह्न यो आक्रमण भएको हो।
अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एउटा विज्ञप्तिमा उक्त हमलालाई सम्बोधन गर्न कदम चालिरहेको जनाएको छ।
कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर वा नेटवर्क उपकरण सञ्चालन गर्ने एउटा एपमा ह्याकरहरूले पहुँच कायम गरेको हुनसक्ने जनाएको छ।
उसले ‘सानो सङ्ख्यामा’ कम्पनीहरू प्रभावित भएको बताएपनि हन्ट्रेस ल्याब्सले उक्त सङ्ख्या २०० पुगिसकेको र बढ्ने उल्लेख गरेको छ।
अहिले नै कुन कुन कम्पनी प्रभावित भए स्पष्ट भइसकेको छैन्। बीबीसीले सम्पर्क गर्दा कसेयाका प्रतिनिधिले विवरण दिन अस्वीकार गरेका छन्।
कसेयाको वेबसाइटका अनुसार उक्त कम्पनीको उपस्थिति १० वटा देशमा छ र उसका १० हजारभन्दा बढी ग्राहक छन्।
रुस अमेरिका साइबर तनाव
रोयर्टस समचार संस्थालाई इमेलमा जवाफ दिँदै हन्ट्रेस ल्याब्सका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जन हेमन्डले उक्त साइबर हमला भीषण भएको बताए।

साइबर आक्रमण : अमेरिका र रुसले एक अर्काका देशबाट साइबर आक्रमणको उत्पत्ति हुने गरेका आरोप लगाउने गरेका छन्
जेनेभामा अघिल्लो महिना भएको शिखर बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई त्यस्ता साइबर आक्रमण नियन्त्रण गर्नु उहाँको जिम्मेवारी भएको आफूले बताएको जानकारी दिनुभएको थियो ।
बाइडनले साइबर हमला गर्न नहुने ऊर्जादेखि पानीसम्म पूर्वाधारका १६ वटा क्षेत्रको सूची आफूले पुटिनलाई दिनुभएको थियो।
अहिले आक्रमणमा संलग्न भएको ठानिएको रीभील विश्वको सबैभन्दा चतुर र नाफा कमाउने साइबर अपराधीहरूको समूह हो।
सोडीनोकीबी पनि भनेर चिनिने उक्त समूहले गएको मे महिनामा विश्वको सबैभन्दा ठूलो मासु आपूर्तिकर्ता जेबीएसको सञ्चालन ठप्प हुने गरी साइबर आक्रमण गरेको थियो।
उक्त समूहले आफ्ना माग पूरा नगर्ने कम्पनीहरूका चोरिएका दस्ताबेज ‘ह्यापी ब्लग’ भनिने उसको वेबसाइटमा राखिदिने चेतावनी पनि दिने गर्छ।
सन् २०१९ मा टेक्ससका दुई दर्जन स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको बताइन्छ।


















