Prakash Adhikari July 3, 2021

हवाईद्धीप(संयुक्त राज्य अमेरिका), १९ आषाढ(बीबीसी) । दुईजना पाइलटले उडाइरहेको एअर कार्गो कम्पनी ट्रान्सएअरको स्वामित्वमा ७३७ रहेको कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ।

उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खस्यो।

तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए।

रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए।

यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्‍याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ।

एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक ठानिएका व्यक्तिलाई ह्वीलचेअरमा राखेर लगिँदै थियो। उनी होसमा रहेको जस्तो देखिन्थ्यो।

ती पाइलटले आफूहरू समस्यामा परेको थाहा पाएका थिए।

अनलाइनमा राखिएको भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई भनेको सुनिन्छ, “नम्बर १ इन्जिन बिग्रेको छ।अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।”


विमान होनोलुलुबाट माउइ टापुको काउलुई गइरहेको थियो

अमेरिकी मिडियाले बोइङको विज्ञप्ति छाप्दै कम्पनी अधिकारीहरूको सम्पर्कमा रहेको र ुअवस्थालाई नजिकबाट हेरिरहेकोु भनेका छन्।

द फेडरल एभियशन एडमिनिस्ट्रेशन र न्याशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाको अनुसन्धान गर्ने भएको छ।

एफएएले भनेको छ, “पाइलटहरूले इन्जिनमा समस्या आएको रिपोर्ट गरेका थिए र होनोलुलु फर्कने प्रयत्न गरिरहेका बेला उनीहरूले जहाजलाई पानीमा खसाल्न बाध्य भए।”

उडानहरूको जानकारी दिने वेबसाइट फ्लाइटरेडार २४ ले ट्वीट गर्दै उक्त जहाज ट्रान्सएअर कम्पनीका लागि सन् २०१४ देखि उडानमा रहेको ७३७(२०० कार्गो विमानका रूपमा काम गर्दै आएको जनाएको छ।

ट्रान्सएअर फ्लाइट ८१० काहुलुइतर्फ होनोलुलुबाट उडेको केही बेरमै पानीमा खस्न पुगेको फ्लाइटराडारले जनाएको छ।

ट्रान्सएअर सन् १९८२ देखि व्यवसाय गर्दै आएको र त्यो हवाईको ठूलो कार्गो व्यवसायीमध्ये एक भएको बताइएको छ।

उक्त कम्पनीसँग पाँचवटा बोइङ ७३७ रहेको जानकारी वेबसाइटमा राखिएको छ।

होनोलुलुमा खसेको विमान ७३७ म्याक्स होइन, बोइङ ७३७ म्याक्स मोडलका विमान सन् २०१८ मा र सन् २०१९ मा दुर्घटनाग्रस्त भएपछि अधिकारीहरूले उडानमा अस्थायी रोक लगाएका थिए।

सन् २०२० मा अमेरिकी नियामक अधिकारीले पुनस् उडान अनुमति दिए पनि त्यसलाई पुनस् निगरानीमा राखिएको छ।

 

Share Now

Leave a comment.