Prakash Adhikari July 9, 2021

काठमाडौं,२५ आषाढ । नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशिल सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवम् पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशिल सदस्यता विवाद रहेका देशभरका ५०० वडामध्ये ३०० वडाको विवाद टुङ्गो लागेको जानकारी दिनुभयो । पार्टीको क्रियाशिल सदस्यता छानविन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशिल सदस्यता विवाद टुङ्गो लगाइने समितिका प्रवक्ता पौडेलले बताउनुभयो ।

काँग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

काँग्रेसको १४ औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ । यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Share Now

Leave a comment.