काबुल(अफगानिस्तान), २५ आषाढ (बीबीसी) । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्।
इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्।
अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको छ।
अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमानाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन्।
कब्जा
भिडिओ फुटेजमा तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान झन्डा उतारेको जस्तो देखिन्छ।
इस्लाम काला नामक उक्त नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो।
त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो।

अफगान फौज
रक्षा मन्त्रालयका प्रवक्ताले सो क्षेत्रमा सुरक्षा फौजको उपस्थिति रहेको र उक्त नाका पुनः आफ्नो नियन्त्रणमा लिन प्रयासरत रहेको बताए।
अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले भूभाग कब्जा गर्ने कारबाही तेज पारिरहेको छ।
गत महिना तालिबानले अफगानिस्तानको अर्को छिमेकी ताजिकिस्तानसँगको मुख्य सीमानाका कब्जा गरेका थिए।
नियन्त्रण
तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको बताएको छ।
तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ भने स्वतन्त्र पुष्टी गर्न कठिन छ।
अरूले गरेका अनुमानमा हाल तालिबानले देशको ४०० जिल्लाहरूमध्ये एक तिहाइभन्दा धेरै नियन्त्रणमा लिएको बताइएको छ।
त्यसमा पश्चिममा इरानसँगको सीमाक्षेत्रदेखि लिएर अर्कोपट्टि चीनसँगको सीमाक्षेत्र भएका इलाका पनि रहेको बताइन्छ।
यसै साता अमेरिकी सेनाले अफगानिस्तानस्थित उसको मुख्य सैन्य अखाडा बाग्रामलाई सुटुक्क छाडेको थियो।
शुक्रवार रुसले अफगान(ताजिक सीमाक्षेत्रको दुई(तिहाइ भूभाग तालिबानले नियन्त्रणमा लिएको बताएको छ।
मस्कोले अफगानिस्तानमा सबै पक्षलाई संयम अपनाउन भनिरहेको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ ।
बाइडनको बचाउ
रुसको उक्त टिप्पणी आउनु केही घण्टा अगाडि अमेरिकी राष्ट्रपति जो बाइडनले २० वर्षको युद्धपश्चात् अफगानिस्तानबाट सेना फर्काउने आफ्नो प्रशासनको निर्णयको बचाउ गर्नुभएको थियो।
आफूले अर्को अमेरिकी पुस्तालाई पनि कुनै फरक नतिजा आउने यथोचित अपेक्षाबिना अफगानिस्तानमा युद्ध लड्न नपठाउने उहाँले बताउनुभएको थियो।
अफगान सरकारले सम्पूर्ण देश नियन्त्रणमा राखिरहने धेरै सम्भावना नभएको उहाँले स्वीकार गर्नुभएको थियो।

केही अमेरिकी गुप्तचर विश्लेषकहरू तालिबानले ६ महिनाभित्र देशको नियन्त्रण खोस्न सक्ने चिन्ता गर्छन्।
त्यो जुन महिनामा गरिएका अध्ययनमा आधारित भएको बताइन्छ।
यसबीच तालिबानले छिमेकी देशहरूविरुद्ध कारबाही गर्ने उद्देश्यले अन्य विद्रोही समूहलाई अफगान भूभागको प्रयोग गर्न आफूहरूले कहिल्यै नदिने भनेको छ।


















