Prakash Adhikari July 18, 2021

काठमाडौ, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयुक्त सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुरलाई आइतबार नै औपचारिक पत्र पठाएर विश्‍वासको मत माग्नुभएको थियो । आजै संसद् भवनमा बसेको ठाकुर पक्षको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसअघि जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपामा २० सांसद उपेन्द्र यादव पक्षमा हुनुहुन्छ भने १२ सांसद महन्थ पक्षमा हुनुहुन्छ ।

यता आजै जसपाको आधिकारिताको बारेमा निर्वाचन आयोगमा भएको सुनुवाईमा आयोगको इजलासले दुवैपक्षसंग थप प्रमाण माग गर्ने निर्णय गरेको छ ।

आयोगको यो निर्णयले ठाकुर पक्षलाई सरकारको पक्षमा उभिन दबाब परेको बुझिन्छ । पार्टीका ३२ सांसदमध्ये २० जना सरकारको पक्षमा उभिएको रेकर्ड निर्वाचन आयोगमा पुगेपछि दलको आधिकारिकता उपेन्द्र यावदको पक्षमा जाने भएकोले पनि आयोगलाई भ्रममा राख्न ठाकूर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको बताइन्छ ।

Share Now

Leave a comment.