Prakash Adhikari July 18, 2021

 

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरू एक अर्काका शत्रुहरू नभएको भन्दै सहयात्राको भावनासहित आफ्नो सरकारले काम गर्ने बताउनुभएको छ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै देउवाले सबै राजनीतिक दलहरूको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको उल्लेख गर्दै सहकार्य र सहयात्रामा जोड दिनुभयो।

देउवाले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भएका असल कामहरू आफ्नो सरकारका लागि उपयोगी हुने बताउनुभयो।

“देशमा सुशासन कायम गर्नु छ। यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरू बिच निरन्तर संवाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहने छु। हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ।”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो। यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ।”

प्रतिनिधि समा पुनर्स्थापनापछि पहिलो बैठक
प्रतिनिधि समा पुनर्स्थापनापछि पहिलो बैठक

प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले मुलुक निकै जटिल अवस्थामा छ। कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ।”

उहाँले आफ्नो सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने प्रतिबद्धता जनाउनुभयो।

सरकार संसद्प्रति उत्तरदायी रहनु पर्दछ भने संसद्ले सरकारका सबै गतिविधिप्रति ध्यान दिइ अनुगमन गर्नु पर्ने उल्लेख गर्दै देउवाले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा हिँडाउने बताउनुभयो।

त्यसका लागि आफूलाई विश्वासको मत दिन उहाँले  सांसदहरूलाई अनुरोध गर्नुभएको छ ।

मुलुक जटिल अवस्थामा रहेको भन्दै उहाँले कोभिड १९ बाट नागरिकलाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो।

श्रीमान् पाँचबाट नियुक्त !

प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा बोल्दै एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले इतिहासका विभिन्न घटनाहरू स्मरण गर्दै नेपालमा दल विभाजन गरेर सरकार गिराउने कार्यले लोकतन्त्र कमजोर हुने गरेको बताउनुभयो।

उहाँले “एक पटक गृहमन्त्री र दुई पटक प्रधानमन्त्रीको रूपमा दलीय विभाजनको सिकार बनेर बाहिरिएका प्रधानमन्त्री देउवाले पुनः ७६(५) मार्फत् ३२ वर्षअघि समाप्त गरेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम गरेको” आरोप लगाउनुभयो।

प्रदीप ज्ञवाली

प्रदीप ज्ञवाली

उहाँले देउवालाई लक्षित गर्दै संविधानको धारा ७६(५) को अपव्याख्याका आधारमा प्रधानमन्त्री बनेको बताउँदै आफूहरूलाई प्रधानमन्त्रीबाट हट्नुपर्‍यो भन्ने चिन्ता भन्दा पनि ूप्रणाली भत्कियो भन्नेू चिन्ता भएको बताउनुभयो।

“कुनै पनि लोकतान्त्रिक प्रणालीले सर्वोच्च अदालतले सिँधै प्रधानमन्त्री तोक्ने काम कुरा गर्दैन”, उहाँले भन्नुभयो, “प्रश्न को सत्तामा गयो भन्दा पनि खेल निष्पक्ष भयो कि भएन भन्ने हो।”

तर उहाँले ‘जतिसुकै अप्रिय भए पनि सर्वोच्च अदालतको फैसला मान्ने’ बताउनुभयो।

“उतिबेला श्री पाँच अहिले श्रीमान् पाँचबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ ” , ज्ञवालीले सांसदहरू स्वतन्त्र हैसियतमा हुने संविधानको व्यवस्थालाई ‘अजिब व्याख्या’ भएकोमा आफूहरूको चिन्ता रहेको बताउनुभयो।

सभामुखको जोड ७६ (५)को व्यवस्थामै

पुनर्स्थापित संसद्को पहिलो बैठक सुरु गर्दै सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि आफूहरूले वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक व्यवस्थाहरू समावेश गरेको बताउनुभएको छ।

सभामुख

सभामुख

देउवा प्रधानमन्त्री बनेको संविधानको धारा ७६(५) को व्यवस्थाप्रति सङ्केत सभामुख सापकोटाले आफ्नो सुरुवाती सम्बोधनमा बोल्नुभएको थियो।

ूविगतको तुलनामा संसद्लाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनीतिक समस्याहरूको निकास दिने आधिकारिक थलोको रूपमा संविधानमा स्थापित गरिएको पुनः प्रमाणित गरेको छ। उहाँले भन्नुभयो ।(बीबीसीबाट)

Share Now

Leave a comment.