काठमाडौं, ११ फागुन। ‘क्रिकेट खेलका अन्तराष्टिय प्रतियोगितामा नेपालको झण्डा उचो पार्दै आएका नेपाली क्रिकेट खेलाडीहरुलाई नेपालका कर्पोरेट हाउसहरुले पनि प्रायोजन गर्न थालेका छन् ।
सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई मासिक ४० हजारको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको भोलिपल्टै ग्लोबल आईएमई बैंकले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई बार्षिक ४ लाख सहयोग गर्ने बताएको छ ।
सानिमा बैंकले बिहिबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले सन्दिप आईपीएलमा आवद्ध हुनु ऐतिहासिक क्षण भएको बताए ।
जितपछि पाउने सम्मान राम्रो भएपनि यसलाई संस्थागत गर्न सक्नु पर्ने उनले बताए । यू(१९ खेलेर आएपछि आफूमा अष्ट्रेलिया वा बेलायततिर जाने सोच बनाएको स्मरण गर्दै उनले भने, ‘अहिले जुनियर साथीहरुले कर्पोरेट हाउसहरुले साथ दिँदा हामीलाई कसैले हेरिरहेको छ भन्ने लाग्छ ।’
उनले अबको ५र१० वर्षमा नेपाल टेष्ट नेशन बन्न सक्ने तर, आजैदेखि काम गर्नु पर्ने बताए । उनले अघि भने, ‘सक्दो प्रयास गर्छौं । इमान्दार भएर यहाँसम्म आएका छौं र आगामी दिनमा आफ्नो देशलाई माथि पुर्याउन कोसिस गर्छौं ।’
विश्वकप खेलेर आउँदा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य स्वागतका लागि विमानस्थल पुगेको स्मरण गर्दै उनले यसले टिमलाई थप हौसला मिल्ने बताए ।
सन्दिपले भर्खर अन्तराष्ट्रिय करियर सुरु गर्दा पाएको सानिमा बैंकको साथले हौसला मिलेको स्मरण गरे ।
कार्यक्रममा बैंकले सन्दिपलाई मासिक रुपमा दिइने रकम दोब्बर पार्ने घोषणा गरेको छ । अब सन्दिपले २ वर्षसम्म मासिक ४० हजार पाउनेछन् ।
दीपेन्द्रलाई ग्लोबल आईएमईको प्रायोजन
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौं वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याएका नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षकोलागि प्रायोजन गरेको छ।
ग्लोबल आइएमई बैंकको रजिष्टर्ड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रायोजन गरेको घोषणा गरेको हो। प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु ४ लाख प्रदान गर्नेछ।
बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह ऐरीलाई सम्मान गरेको बताए।
उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे।
समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए।
सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे। साथै उनले दिपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले गरेको प्रायोजनप्रति खुशी व्यक्त गरे।