काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण संख्या दैनिक निको हुनेको संख्याभन्दा दोब्बर देखिएको छ ।
शुक्रबार एकैदिन आज ३ हजार ७ सय २९ जनामा कोभिड–१९ पुष्टि भएको छ भने निको हुनेको संंख्या १ हजार ८ सय ८५ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको दैनिक स्वास्थ्य बुलेटिनमा उल्लेख भए अनुसार १५ हजार ६ सय ७५ मा गरिएको परीक्षणमा ३ हजार ७ सय२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।
आज थपिएका सङ्क्रमितसँगै कूल संक्रमितको सङ्ख्या ७ लाख ७७ हजार ५ सय ८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९ सय ४२ जना रहेका छन् ।
उपत्यकामा ७ सय १ सङ्क्रमित
काठमाडौँ उपत्यकामा आज ७ सय १ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ७१, भक्तपुरमा ८३ र ललितपुरमा १सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा १ हजार ८ सय ८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल ६ लाख ६५ हजार ५ सय ४८ जना निको भइ घर फर्किएका हुन् ।
नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ ।
अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
यसैगरी ७ सय ३२ जना सघन उपचार कक्ष (आइसियु), १ सय ५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४ सय २७ जना होमआइसोलेसन, ३ हजार ५ सय १५ जना संस्थागत आइसोलेसन, ३ सय ५६ जना क्यारेन्टिन रहेका छन् ।
विगत २४ घण्टामा १ लाख २० हजार ८ सय ९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
कतिले लगाए खोप ?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २२ लाख नाघेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजार जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।


















