Prakash Adhikari August 21, 2021

काठमाडौंं, ५ भाद्र । नेपालमा थप २ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ४ सय ८५ पुगेको छ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३ हजार ७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५ हजार ३ सय ७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

कहाँ छन् सङ्क्रमित ?

तीमध्ये ३ हजार ३ सय ६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेकामध्ये ७ सय १८ जना सघन उपचार कक्ष आईसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा छन्।

उपचार

विगत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ सय ८३ सङ्क्रमित भेटिएका हुन्।

नेपालभरि २२ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २ सय देखि ४ सय ९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।

५ सय भन्दा बढी सक्रिय सङ्क्रमित कहाँ धेरै ?

सक्रिय सङ्क्रमित ५ सय भन्दाबढी भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दाबढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५ सय माथि छ।

कतिले लगाए खोप ?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३८ लाख ३५ हजार नाघेको मन्त्रालयले जनाएको छ। पहिलो मात्रा लगाउने ४९ लाख ३५ हजार ५६ जना पुगेका छन् ।

अक्सफर्ड आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

छिमेकी भारतको अवस्था

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार भारतमा ९७.५ प्रतिशत सर्वसाधारणहरू कोभिडबाट निको भएका छन्। नेपालमा उक्त प्रतिशत ९३.१ छ।

त्यस्तै नेपालमा मृत्यु हुनेहरूको औसत १.४ प्रतिशत रहँदा भारतमा १.३ प्रतिशत छ।

सक्रिय सङ्क्रमितहरूको प्रतिशतमा भने नेपाल भारत भन्दा अघि देखिन्छ। भारतमा हाल १.१ प्रतिशतमा सक्रिय सङ्क्रमण छ भने नेपालमा ५.५ प्रतिशतमा सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

भारतमा हालसम्म ५७ करोडभन्दा बढी कोभिड खोपका मात्रा सर्वसाधारणहरूलाई दिइएको जनाइएको छ । (बीबीसीबाट)

Share Now

Leave a comment.