Prakash Adhikari August 21, 2021

काबुल(अफगानिस्तान), ५ भाद्र (बीबीसी) । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तानमा नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल आइपुग्नुभएको छ।

उहाँ अफगानिस्तानमा भएका तालिबान नेतामध्ये सबैभन्दा वरिष्ठ नेता हुनुहुन्छ जसले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का छ।

तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ।

बरादरबाहेक कट्टरवादी धार हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा हुनुहुन्छ।

उहाँको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घ दुवैले तयार पारेको फरार आतङ्कवादीको सूचीमा छ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थाल्नुभएको छ।

स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहनुभएको थियो।

बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थलमा ओर्लिनुभएको थियो।

कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो।

बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनुअघिसम्म कान्दहार तालिबानको महत्त्वपूर्ण आधारक्षेत्र थियो।

तालिबानका संस्थापक मुल्लाह अब्दुल गनी बरादर 

मुल्लाह बरादर

मुल्लाह अब्दुल गनी बरादर ती चार नेतामध्येका एक हुनुहुन्छ जसले सन् १९९४ मा तालिबानको गठन गर्नुभएके थियो।

सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उहाँ विदेशी सैन्य फौजविरुद्धको विद्रोहका नाइके बन्नुभयो।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उहाँलाई कराची सहरबाट पक्राउ गरिएको थियो।

सन् २०१२ सम्म उहाँकाबारे धेरै जानकारी उपलब्ध थिएन।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उहाँको नाम प्रमुख रूपमा हुने गर्थ्यो।

सन् २०१३ मा पाकिस्तानी सरकारले उहाँलाई रिहा गर्‍यो।

उहाँ तालिबानका पूर्वप्रमुख मुल्लाह ओमारले सबैभन्दा विश्वास गरेका व्यक्ति र उहाँका निकट सहयोगी हुनुहुन्थयो।

अफगानिस्तान

पक्राउ पर्दा उहाँ तालिबानका दोस्रो वरीयताका नेता हुनुहुन्थ्यो।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उहाँलाई खटाइयो।

उहाँले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहनुभयो।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुज्गान प्रान्तमा सन् १९६८ मा भएको थियो।

उहाँ दुर्रानी समुदायबाट आएको ठानिन्छ।

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको थालनी
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश
तालिबान

 

Share Now

Leave a comment.