काठमाडौं, ६ भाद्र । नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड १९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २७ हजार नाघेको छ भने मृतकको सङ्ख्या १० हजार ५ सय ९ पुगेको छ।
आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार ५ सय १६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ३ हजार ७३ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार २ सय ४८ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
कहाँ छन् सङ्क्रमित ?
तीमध्ये ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
अस्पतालमा उपचार गराइरहेकामध्ये ६ सय ८१ जना सघन उपचार कक्ष आईसीयूमा र १ सय ६९ जना भेन्टिलेटरमा छन्।
विगत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ३ सय ९५ सङ्क्रमित भेटिएका हुन्।
नेपालभरि २२ जिल्लामा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २ सय देखि ४ सय ९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।
सक्रिय सङ्क्रमित ५ सय भन्दाबढी रहेका जिल्ला
५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।
उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५ सय भन्दाबढी रहेको पाइएको छ।
गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, स्याङ्जा र तनहुँमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
प्रदेश १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।
लुम्बिनी प्रदेशका दुई जिल्ला दाङ र रूपन्देहीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सङ्ख्या ५ सयमाथि छ।
कतिले लगाए खोप ?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३८ लाख ४६ हजार नाघेको मन्त्रालयले जनाएको छ।
अक्सफर्ड आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
(स्रोत: बीबीसी)


















