Prakash Adhikari September 12, 2021

नेपालगञ्ज (बाँके) २७ भाद्र ।  देशभरका थारु समुदायमा आज अपटारी पर्व मनाइदै छ । खास गरी पश्चिम नेपालमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा ‘अट्वारी’ पर्व आजदेखि हर्षोल्लासपूर्व मनाइँदै छ ।

आपसी सद्भाव, एकता, र सम्बन्ध सुदृढ पार्ने सो पर्व विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा मनाइने गरिन्छ ।

सो समुदायले आइतबारको दिनलाई ‘अट्वार’ नामले चिन्ने हुँदा यसै दिन यो पर्व मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सास्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।

वर्षा ऋतुमा खेतीका काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिपर्व सुरु भएसँगै भने खेतीपातीका लागि गर्नुपर्ने कामको बोझ हटेको मान्दछन् । कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै ती समुदायका मानिस टोलटोलमा सामूहिकरूपमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाहरुले साँझपख आ–आफ्नो घरमा खानाका मिठा परिकारको व्यवस्था गर्ने गर्दछन् । खानाको व्यवस्थापनपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुहरुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान यो परिकार विवाहिता आफ्नी छोरी, बहिनीको घरसम्म पु¥याइदिने प्रचालन छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीलाई ‘अग्रासन’ अर्थात् खानका मिठा परिकार उपलब्ध गराउने व्यवस्था गरिन्छ । यस्तो कामलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको यो समुदायका अगुवाहरु बताउँछन् ।

यस पर्वको दिनदेखि चौधरी समुदायमा ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

 मुख्यमन्त्री भट्टको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अट्वारी पर्वले सामाजिक, सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

“थारू समुदायले मनाउने विभिन्न पर्वमध्ये महत्वपूर्ण पर्व अट्वारीलाई आफ्नै मौलिकरूपले मनाउँदै आएका छन्”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “यस्ता पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने विश्वास लिएको छु ।” साथै उहाँले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई पर्वलाई खुशीयाली साथ मनाउन आग्रह समेत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उहाँले भन्नुभयो,“ दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।”

टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । सस्ंकृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।

“अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् । ” उहाँले भन्नुभयो ।

छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।

यो अग्रासनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो । सस्ंकृतिविद् भन्नुभयो, “दाङ सुकौराका थारू राजा दङ्गीशरणको दरबार घोडारुपी उर्वसीका कारण स्वर्गका राजा इन्द्रले आक्रमण गरिदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र दङ्गीबीच निकै घनिष्टता बढेको मान्यता छ । एकपटक कुनै शत्रुले दङ्गीमाथि आक्रमण गरेपछि रोटी पकाउँदा–पकाउँदै त्यसै छाडेर भीम दङ्गीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आइतबार नै परेछ । त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झिएर अट्वारी पर्व मनाउन थालिएको हो ।”

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । “यो थारूहरुको माघिपछिको ठूलो पर्व हो”, थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

थारु समुदायमा अटवारी पर्वको रौनक

पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारु अगुवा चन्द्र थारुले बताउनुभयो ।

उहाँका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्टयाएर बाँकी भाग वर्तालुले खाने चलन छ । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो पर्वका रुपमा रहेको उहाँको भनाइ छ ।

थारु समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

अटवारी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिकाले आज र सोमबार गरी दुई दिन स्थानीय बिदाको निर्णय गरेको छ । गाउँपालिकामा ठूलो सङ्ख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । लुम्बिनी प्रदेशमा थारु समुदायको बाहुल्यता रहेका दाङ, बाँके र बर्दियाका अन्य स्थानीय तहले समेत अटवारी पर्वका अवसरमा स्थानीय बिदाको निर्णय गरेका छन् ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*