मस्कट(ओमान), १ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकासंग चलिरहेको दोस्रो खेलमा शीर्षस्थानका नेपाली ब्याट्सम्यान मैदानमा जम्न नसक्दा खेल बलरहरुको हातमा पुगेको छ ।
अलअमिराट्स क्रिकेट मैदान मस्कटमा टस जितेर अमेरिकाले फिल्डिड. रोजेपछि पहिले ब्याटिड. गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८ औं ओभरमा टुंग्याउदै नेपालले १ सय ७४ रन जोडेको थियो ।
आज पनि नेपालका शीर्ष क्रमका ब्याटसम्यानहरु मैदानमा टिक्न सकेनन् । ओपनर आसिफ शेख तेश्रो ओभरमा ३ रन बनाएर आउट भए पछि दोश्रो विकेटको लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको सझेअदारी गरे। ४३ बलमा ५ चौका र १ छक्का मद्दतले ३६ रन बनाएका भुर्तेल १२ औं ओभरमा आउट भए। त्यसपछि रोहित पौडेल २ तथा बिनोद भण्डारी मात्र १० रन बनाएर आउट भए।
नेपालले ८९ रन बनाउदा ४ विकेट गुमाएको पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका गुल्शन झालाई नेपालले छैठौं नम्बरमा मैदानमा उतार्यो। डेब्यू खेलमा गुलशनले राम्रो गरे । ५३ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाएका झालाई अमरिकी कप्तान सौरभ नेत्रभाल्करले ३९ औं ओभरमा क्याच आउट गराए। त्यतिबेलासम्म कप्तान मल्लले झासंग साझेदारी गर्दै पाँचौ विकटको लागि ५१ रन जोडेका थिए।
लगत्तै नेत्रभल्करले खाता नखोल्दै कुशल मल्ल, २ रन बनाएका सोमपाल कामि तथा १२ रन बनाएका करन केसीलाई पेभेलियन फर्काए।
धैर्यतापूर्वक ब्याटिंग गरिरहेका कप्तान मल्ल ५५ रन बनाएको अवस्थामा ४६ औं ओभरमा कायल फिलिपबाट क्याच आउट भए। एकदिवसीय अन्तर्राष्ट्रियमा १५ औं खेल खेल्ने क्रममा मल्लले बनाएको यो तेश्रो अर्धशतक हो। यस अघि उनले ओमानबिरुद्ध गत वर्ष घरेलु मैदानमा ५६ तथा २०१८ मा नेदरल्याण्डबिरुद्ध ५१ रन बनाएका थिए।
मल्लको विकेट पछि अन्तिम विकेटको रुपमा आउट हुनु अघि सन्दिप लामिछानेले ११ रन बनाए।
अमेरिकाको बलिंगमा कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा २९ रन खर्चिए। खेलमा डेब्यु गरिरहेका कायल फिलिपले ३ विकेट तथा करिमा गोर, एल्मोर हचकिन्सन र नोस्थुस केंजिगेले समान एक एक विकेट लिए।
खेलमा नेपालले बिक्रम सोबको स्थानमा गुल्सन झालाई अन्तिम एघारमा मौका दिएको छ। झा नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्ने २७ औं खेलाडी हुन्।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। आज नेपालले अमेरिकालाई पराजित गरेको खण्डमा नेपाल विश्वकप लिग२ अंकतालिकाको चौथों स्थानमा पुग्न सक्नेछ।
हाल चौथों नम्बरमा नामिबिया ८ अंक सहित छ भने पाँचौ स्थानमा रहेको युएईको ७ अंक रहेको छ। नेपाल ६ अंक सहित छैठौं स्थानमा छ।


















