Prakash Adhikari October 2, 2021

रसुवा, १६ असोज । अघिल्लो कार्यकालमा लोडसेडिड. हटाएको जस पाएर वाहवाही पाउनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.को दोस्रो कार्यकाल सहज देखिएको छैन् ।

कुलमानमाथि अहिले प्राधिकरणले विद्युत खरिद संझौता गरेर निजी क्षेत्रबाट उत्पादन भएको बिद्युत कहाँ बिक्री गर्ने भन्ने समस्या भएको छ । तामाकोशीबाट उत्पादित विद्युत बेच्ने बजार नपाएर तर्सिएको विद्युत प्राधिकरणको टिमले विद्युत खरिदका लागि भारतका कुनै पनि बजारलाई सहमत गराउन सकेको छैन ।

हालै बिहार इलेक्ट्रिसिटी बोर्डले नेपाललाई बर्षामा बढी भएको विद्युत उपभोग गर्ने र हिउँदमा त्यति नै परिणाममा भारतबाट विद्युत दिने अ‍ैचोपैचौ वा पावर पूल वा पावर बैंकको आधारमा विद्युत उपयोग गर्ने प्रस्ताव पठाएको छ । यो प्रस्ताव रामेश्वर यादव कार्यकारी निर्देशक हुँदा नै सहमति भैसकेको थियो ।

भारत र नेपालका सीमावर्ती क्षेत्रमा विद्युत आदान प्रदान गर्ने संझौता भने धेरै पहिले नै भएको थियो ।

तामाकोशी आयोजनाले पूर्ण क्षमतामा उत्पादन गरेको विद्युत आएसंगै बर्षातमा झण्डै ६ महिना २४ सैं घण्टा बढी हुने विद्युत र हिउँदका महिनामा रातको समयमा उपयोग हुन नसकेको विद्युत बिक्री गर्ने बजार खोज्न छोडेर कार्यकारी निर्देशक घिसिड.का सेनामेनाहरु प्राधिकरणका विभिन्न आयोजनामा काम गरिरहेको ठेकेदारलाई धम्क्याउने,हप्काउने,निहुँ झिकेर काम बन्द गराई ठेक्का तोडेर आफ्ना मानिसलाई दिलाउने कसरतमा लागेका छन् ।

घिसिड.का सेनामेनाहरुको कच्चा खेल रसुवाको टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा प्रदर्शन भएको छ ।

यो बर्ष जेठको अन्तिम हप्तादेखि मनसून सुरु भयो र लगातार बाढी तथा पहिरो जाने हदको पानी परिरहेको छ । भारतमा आएको गुलाब आँधीको कारण मनसुन निख्रिने समय लम्बिएको छ । पानी परिरहेकोले नदी किनारामा बन्दै गरेका कतिपय जलविद्युत आयोजनाको बाँध बगेको छ। कपिपयको पावरहाउस पुरिएको छ । कतिपयको खुला नहर पुरिएको छ । सुरुड.हरु पहिरोमा परेका छन् भने कतिपयको उत्पादन गृहमा बाढी पसेर उपकरणहरु सरसफाई गर्नुपर्ने अवस्था आएको छ ।

यस्तै नियति भोगिरहेको छ रसुवा गढी जलविद्युत आयोजनाले । आयोजनामा विद्युतीय सामग्री आपूर्ति गर्ने जिम्मा पाएका प्राविधिकहरुका अनुसार उनीहरुले जडान गरिसकेका विद्युतीय उपकरणहरु बाढी पसेर सफाई गर्न पर्ने अवस्थामा पुगेका छन् । आयोजनाका अन्य संरचना राम्रो भएको भए बाढी पस्ने थिएन । विद्युतीय उपकरण जडान गरेपछि परीक्षण गरेर विद्युत उत्पादन गरे पुग्दथ्यो ।

सामान आपूर्ति तथा जडानको ठेक्का संझौता हुँदा पावर हाउसमा बाढी पस्ने र सफाई गर्नुपर्ने अवस्थाको कल्पना थिएन । यस्तो प्रावधान राख्दा पनि राखिएको थिएन । बाढीका कारण उपकरण सफाईको अतिरिक्त आर्थिक भार थपिएपछि ठेकेदारले त्यसको भेरिएसन अर्डर स्वीकृति खोजेको छ । तर कुलमानका सेनामेनाहरु भने निहुँ खोज्दै सबै सफाई गर्ने र बाँकी सामान नजोडेमा ठेक्का तोडिन सक्ने धम्की दिन थालेका छन् ।

रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैरेले पनि उपकरण जडानको जिम्मा लिने भोइथ इण्डिया नामक भारतीय कम्पनीले सम्झौताबमोजिम काम अगाडि नबढाइ आलटाल गरेको आरोप लगाउनुभएको छ ।

सम्झौताको शर्तअनुसार गत चैतबाटै विद्युतीय उपकरणहरु जडान गर्नुपर्ने भएपनि भारतमा बढेको कोरोनाको दोस्रो लहरले भोइथ इण्डियाका प्राविधिकहरु आउन संभव नभएको र यसलाई काबुबाहिरको परिस्थितिको रुपमा लिन पर्ने दावी ठेकेदार कम्पनीको रहदै आएको छ ।

१ सय ११ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा उपकरण जडान गर्न एक वर्षको समय लाग्ने बताइन्छ ।

विद्युत्गृहमा जडान हुने उपकरण भने आयोजनास्थलमा भण्डारण भइसकेको र सो कम्पनीले दक्ष प्राविधिक उपलब्ध गराउना साथ काम अगाडि बढ्ने अवस्था रहेको बताइरहेको छ ।

आयोजनाका प्रमुख गैरेले स्थानीय पत्रकारहरुलाई दिएको जानकारी नै परस्पर बाझिने प्रकृतिका छन् । एकातिर उहाँले  बर्सातले आयोजनास्थल जाने पहुँच मार्गमा क्षति पु¥याएको र भोटेकोशीमा पानीको बहाव अत्यधिक बढ्न गई सुरूङबाट पानीभित्र पस्दा विद्युत्गृह स्थलमा लेदो पसेकोले सफा गर्न लामो समय खर्चिनुपरेको बताउनुभएको छ भने अर्कोतिर आयोजनाको संरचना भूमिगत भएकाले उपकरण जडान गर्न गराउन भारी वर्षा बाढीपहिराजस्ता प्राकृतिक प्रकोपले कुनै असर नगर्ने जिकिर पनि गर्नुभएको छ ।

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयका उच्च अधिकारीहरु भने असक्षम आयोजना प्रमुखहरु दोषजति ठेकेदारलाई पन्छाएर आफू पानीमाथिको ओभानो बनेर जागीर बचाउने जमर्कोमा लागेकोले ठेकेदारलाई पेल्न खोजिएको बताउछन् । ठेकेदारहरु समयमा निर्णय गर्न नसक्ने इञ्जिनियर, आयोजना प्रमुख र कमिशनखोरहरुको चेपुवामा पर्ने गरेका छन् । जडान भएका उपकरण सफाईको अतिरिक्त खर्च पनि अनुमोदन गर्न नसक्ने, बाढी पसेर बिग्रिएको स्थान पनि सफाई गर्न नसक्ने, काम गर्ने वातावरण नबनाएको अवस्थामा बर्षा नरोकिदै विद्युतीय उपकरण आपूर्ति र जडानको ठेकेदारले काम गरेन भनेर दोषारोपण गर्नु कार्यकारी निर्देशकका कमिशन खोर सेनामेनाहरुलाई खुसी पार्ने कमजोर रणनीति मात्र हो ।

सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि भूकम्पको असर,नाकाबन्दीको कारण पेट्रोलियम पर्दाथको अभाव, वर्षैंपिच्छे राजमार्गमा पहिरो जाँदा सामान ढुवानीमा समस्या, सर्ज टैंक जाने सहायक मार्गमा गएको पहिरो, भोटेकोशीमा बेलाबेला आउने बाढीजस्ता असरले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

रसुवागढी नजिक भोटेकोशीको बाँध बाध्ने कामका साथै चार हजार १२५ मिटरको हेडरेस सुरुङ, विद्युत्गृहलगायतका संरचना तयार भइसकेका र बाँकी सर्च टैंकको काम भने भित्री भागबाट अगाडि बढाइएको छ । विसं २०७२ मा गएको भूकम्पको असरले सर्ज टैंक क्षेत्रको बाहिरी भागको पहुँच मार्गमा पहिरो गई असहज परिस्थिति उत्पन्न भएपछि भित्री भागबाट निर्माण कार्य अगाडि बढाइएको हो ।

Share Now

Leave a comment.