काठमाडौं, २२ असोज । सत्ता साझेदार दलहरुले सरकारमा पठाउने प्रतिनिधिहरुको नाम टुंग्याएका छन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार मन्त्रीहरुको नामावली राष्ट्रपतिको कार्यालयमा पठाइएको छ र आजै ४ : ३० मा सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरीलाई पठाउने भएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस अगाडि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ल्याइएको छ ।


त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्ने बताइएको छ ।
कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ ।
कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्नुहुनेछ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी हुनुहुने भएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसक्नुभएको छ ।
माओवादीबाट को को थपिने ?
माओवादी केन्द्रले पनि मन्त्री बन्नेको सूची तयार भएको छ । माओवादीका तर्फबाट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने हुनुभएको छ भने शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री र महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री मन्त्री र बोधमायाकुमारी यादव विज्ञान तथा प्रविधि राज्यमन्त्री दिइने भएको छ ।
माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।
गठबन्धन सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री नियुक्त हुनुभएको थियो ।
एकीकृत समाजवादीबाट को को ?
नेकपा एकीकृत समाजवादीले पनि मन्त्रीको सूची टुंग्याएको छ । सो पार्टीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, रामकुमारी झाँक्री शहरी विकास प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,, कृष्णकुमार श्रेष्ठ ‘किसान’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुहुनेछ भने भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्दैहुनुहुन्छ ।
जसपाबाट कोको आउने ?
गठबन्धनको अर्को साझेदार दल जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार , महेन्द्र राय यादव कृषि तथा पशुपंछी, रामसहाय यादव वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।
गजेन्द्र हमाल आपूर्तिमन्त्री
नेपाली कांग्रेस बाँकेका नेता गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने हुनुभएको छ । सांसद नरहनुभएका उहाँलाई मन्त्री बनाउन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले दबाब दिनुभएको समाचार स्रोतहरुले बताएका छन् तर मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा बोल्दै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको सत्य नभएको अभिब्यक्ति दिनुभएको थियो ।


















