ओस्लो(नर्वे), २२ असोज(बीबीसी) । पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ साहसिक सङ्घर्षका लागि यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।
पुरस्कार समितिले पुरस्कृत जोडीले त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने बताएको छ।
ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको हो।
उनीहरू ३ सय २९ जना मनोनीत व्यक्तित्वबाट छानिएका हुन्।
र्यापलर समाचार वेबसाइटका संस्थापिका रेसाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर ‘आफ्नो देश फिलिपिन्समा अख्तियार दुरुपयोग, हिंसाको प्रयोग र बढ्दो अधिनायकवादविरुद्ध आवाज उठाएको ‘ समितिले बताएको छ।
र्यापलरको प्रत्यक्ष प्रसारणमा रेसाले आफू अचम्मित भएको बताउनुभएको छ।
उहाँले आफ्नो जितले “तथ्यबिना केही पनि सम्भव नरहेको.. तथ्यबिनाको विश्व भनेको सत्य र विश्वासबिनाको विश्व हुने देखाएको” बताउनुभयो।
समितिले नभोया गजेटा नामक स्वतन्त्र पत्रिकाका सहसंस्थापक र सम्पादक मुरातोभले दशकौँदेखि रुसमा चुनौतीपूर्ण अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको लागि लडेको बताएको छ।
टेलिग्राम च्यानलको एक अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “म हाँसिरहेको छु। मैले यसको आशा गरेको थिइनँ। यहाँ रमाइलो अवस्था छ।”
उहाँले सो पुरस्कार रुसी पत्रकारिताका लागि भएको बताउनुभएको छ।
उहाँलाई क्रेमलिनका प्रवक्ताले बधाई दिनुभएको छ। दिमित्री पेस्कोभले भन्नुभएको छ ,”उनले आफ्नो आदर्श अनुसार निरन्तर काम गरे, उनी आदर्शप्रति समर्पित रहे, उनी प्रतिभावान् छन्, उनी बहादुर छन्।”
“स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले अख्तियार दुरुपयोग, झूट र युद्ध प्रोपागान्डाबाट जोगाउँछ”,समितिले एक विज्ञप्तिमा भनेको छ।
“अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नभए देशहरूबीचको भ्रातृत्व, निःशस्त्रीकरण र हाम्रो समयमा राम्रो विश्व व्यवस्था प्रवर्द्धन हुन सक्दैन।”
गत वर्ष नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिइएको थियो ।


















